दाङ। राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले नेपालमा साम्राज्यवादी शक्तिहरूको चलखेल निकै बढेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा दाङ देउखुरी जिल्ला समितिको आयोजनामा आज घोराहीस्थित नेपाल पत्रकार महासंघ दाङको सभाहलमा आयोजित ‘देशको वर्तमान अवस्था र संविधान संशोधन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष केसीले वर्तमान सरकार विदेशी शक्तिहरूकै योजना र स्वार्थ अनुरूप गठन भएको दाबी गर्नुभयो । संविधान संशोधनका बारेमा चर्चा भइरहेका बेला उहाँले संशोधनमा गणतन्त्रको सुदृढीकरण, राष्ट्रियताको रक्षा र मुख्य गरी ’खर्चिलो र अनुपयुक्त’ संघीयताको खारेजीलाई समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पछिल्लो समय सुकुम्बासी बस्तीहरूमा सरकारले चलाएको डोजर आतंकको कडा शब्दमा निन्दा गर्नुभयो । विकल्प बिना गरिबका बस्ती उठाइनु अमानवीय भएको केसीको भनाइ छ ।
राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा नागरिक समाजका सचिवले समसामयिक राजनीतिक परिस्थिति र संविधान संशोधनका चुनौतीबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
मोर्चाका जिल्ला उपाध्यक्ष महेश रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बसन्तराज पौडेलले गर्नुभएको हो ।





















