२०८३ जेष्ठ ४ गते सोमवार

केन्द्रको निर्देशनपछि घोराही उपमहानगर पछि हट्यो, अब आइतबार विद्यालय सञ्चालन नहुने

दाङ, १ जेठ । घोराही उपमहानगरपालिका आइतबार पनि विद्यालय सञ्चालन गर्ने आफ्नो यसअघिको निर्णयबाट पछि हटेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका विद्यालयहरूमा एकरूपता कायम गर्न निर्देशन दिएपछि उपमहानगरपालिकाले आइतबार विद्यालय खोल्ने निर्णय फिर्ता लिएको हो ।

यसअघि उपमहानगरपालिकाले पठनपाठनको क्षति न्यूनीकरण गर्न भन्दै आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरी पत्राचार गरेको थियो । तर, केन्द्रले पाठ्यक्रम व्यवस्थापन, विद्यार्थी मूल्याङ्कन र विदा व्यवस्थापनका विषयमा स्पष्ट निर्देशन पठाउँदै पुरानै कार्यतालिका कार्यान्वयन गर्न लेखी आएपछि उपमहानगरपालिकाले नयाँ परिपत्र जारी गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालद्वारा जारी गरिएको पत्रमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको च.नं. ८७ को निर्देशन बमोजिम नै विद्यालय सञ्चालन र व्यवस्थापन गर्न सबै विद्यालयहरूलाई सूचित गरिएको छ ।

यससँगै अब घोराही क्षेत्रका विद्यालयहरूमा पनि हिउँदे र वर्षे विदा तथा साप्ताहिक विदाको व्यवस्थापन केन्द्रकै नियम अनुसार हुने निश्चित भएको छ ।

स्थानीय तहले शिक्षा क्षेत्रमा आफ्नै ढंगले नियम बनाउन खोजे पनि संघीय सरकारको नीतिसँग मेल नखाँदा निर्णय कार्यान्वयनमा चुनौती देखिएको हो । उपमहानगरपालिकाको यो पछिल्लो निर्णयसँगै विद्यालय, विद्यार्थी र अभिभावकहरूमा रहेको अन्योल पनि हटेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस