दाङ । दाङमा एक वडाले सामुदायिक विद्यालयतर्फ कक्षा ११ मा भर्ना हुने छात्राहरूलाई निःशुल्क विद्यालय पोसाक वितरण गर्ने निर्णय गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले चालु शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना हुने सबै छात्राहरूलाई पोसाक निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो।
आज (शुक्रबार) बसेको वडास्तरीय समितिको बैठकले सामुदायिक विद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने छात्राहरूलाई विद्यालय पोसाक निःशुल्क वितरण गर्ने निर्णय गरेको वडा अध्यक्ष मानबहादुर रावतले जानकारी दिनुभयो। वडामा सामुदायिक विद्यालयतर्फ दुईवटा माध्यमिक विद्यालयहरू रहेका छन्।
निर्णयअनुसार वडा नम्बर ११ भित्र रहेका अमर माध्यमिक विद्यालय उरहरी र शान्ति माध्यमिक विद्यालय नवलपुरमा यस वर्ष कक्षा ११ मा भर्ना भई अध्ययन गर्ने सबै छात्राहरूलाई वडाको तर्फबाट विद्यालय पोसाक उपलब्ध गराइने भएकाे हाे।
सामुदायिक विद्यालयतर्फ दाङ जिल्लामै पहिलोपटक कक्षा ११ मा अध्ययन गर्ने छात्राहरूलाई वडा सरकारले निःशुल्क पोसाक उपलब्ध गराउन लागेको अध्यक्ष रावतको दाबी छ। उहाँका अनुसार छात्राहरूको शैक्षिक पहुँच बढाउने, पढाइमा निरन्तरता कायम गर्ने तथा अभिभावकको आर्थिक भार कम गर्ने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो।
पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकहरूको आकर्षण घट्दै गइरहेका बेला यो कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएकाे छ।
वडा नम्बर ११ ले यसअघि सुत्केरीलाई भाले वितरण गर्ने, सासु–ससुरालाई सम्मान गर्ने बुहारीहरूलाई सम्मान गर्ने जस्ता कार्यक्रममार्फत पनि चर्चामा आएको थियो।



















