तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले अतिक्रमित जग्गाको नाममा “डोजर आतंक” मच्चाएको आरोप लगाउनुभएको छ । प्रेस चौतारी दाङ शाखाले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
महासचिव पोखरेलले राज्यले नागरिकको संरक्षण गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै सरकारी जग्गा अतिक्रमणको नाममा मानव बस्तीमा डोजर चलाउनु अमानवीय व्यवहार भएको टिप्पणी गर्नुभयो । उहाँले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको समस्या समाधानसम्बन्धी कानुनलाई सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो ।
उहाँले सर्वोच्च अदालतले समेत उचित व्यवस्थापन नगरी बस्ती नहटाउन निर्देशन दिएको अवस्थामा सरकारले कानुन उल्लंघन गरिरहेको दाबी गर्नुभयो । जिल्ला अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव पोखरेलले वर्तमान सरकार लोकतन्त्रका मूल्य र मान्यताविपरीत अघि बढ्न खोजेको आरोपसमेत लगाउनुभयो ।
उहाँले जनताका आधारभूत आवश्यकता पूरा गर्दै सुशासन कायम गर्ने, भ्रष्टाचार निरुत्साहित गर्ने कार्यमा केन्द्रित हुनुपर्ने सरकार डोजर आतंक मच्चाउने, राजनीतिक प्रतिशोध साँध्ने, कर्मचारी तथा विद्यार्थी संगठनमाथि हस्तक्षेप गर्ने र जनताप्रति जवाफदेही नहुने गतिविधिमा लागेको आरोप लगाउनुभयो ।
पत्रकारहरूले राखेको वाम एकता र पार्टी नेतृत्व परिवर्तनसम्बन्धी जिज्ञासामा महासचिव पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टीबीच तत्काल पार्टी एकताबारे कुनै छलफल नभएको स्पष्ट पार्नुभयो । उहाँले लोकतन्त्रलाई सुदृढ बनाउन नेपाली कांग्रेससहित वामपन्थी शक्तिहरूबीच कार्यगत सहकार्य हुन सक्ने भए पनि पार्टी एकताबारे कुनै औपचारिक छलफल नभएको बताउनुभयो ।
त्यसैगरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता किन नदिएको भन्ने प्रश्नमा पोखरेलले राष्ट्रपति तथा उपराष्ट्रपति पदमा रहेका व्यक्तिहरू राष्ट्रको साझा अभिभावकको भूमिकामा फर्किनुपर्ने भएकाले पूर्व राष्ट्रपतिहरू पार्टीमा फर्कनु हुँदैन भन्ने पार्टीको मान्यता रहेको बताउनुभयो । यद्यपि, उहाँले राजनीतिमा सक्रिय हुने चाहना राखेपछि पार्टीमा आउने बाटो खुला गरिएको स्पष्ट पार्नुभयो ।
प्रेस चौतारी दाङका सदस्य अरुण नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस चौतारी नेपाल तुलसीपुर नगर अध्यक्ष बसन्त परियारले गर्नुभएको हो ।
















