दाङ, १२ जेठ । तुलसीपुरमा कक्षा ११ मा अध्ययन गर्ने करिब ३ सय २० जना विद्यार्थीले निःशुल्क पढ्न पाउने भएका छन् । एसईई उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गर्दै उपमहानगरले पहिलोपटक छात्रवृत्ति परीक्षा आवेदन खुला गरेको हो ।
नगर शिक्षा समितिको निर्णय तथा संस्थागत विद्यालय छात्रवृत्ति वितरण तथा अनुगमन कार्यविधि, २०७५ अनुसार सञ्चालन गरिएको यो कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले जेठ २५ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका वरिष्ठ शिक्षा अधिकृत चक्रबहादुर भण्डारीका अनुसार छात्रवृत्ति परीक्षामा सफल हुने विद्यार्थीहरूले शिक्षा, व्यवस्थापन, विज्ञान र कानुन विषय अध्ययनका लागि छनोट भएका संस्थागत विद्यालयहरूमा निःशुल्क अध्ययन गर्न पाउनेछन् ।
यस योजनाअन्तर्गत हाम्रो पहुँच, गोर्खा, ज्ञानज्योति, ग्रेट अरनिको, तुलसी बोर्डिङ, हिमाल एकेडेमी, डिभाइन टेम्पल, लिटिल हेभन, सृजना बालबाटिका र लिटिल फ्लावर लगायत १० वटा संस्थागत विद्यालयमा विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराइनेछ ।
कानुनी व्यवस्थाअनुसार प्रत्येक विद्यालयले आफ्नो कुल विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउनुपर्ने व्यवस्था रहेको छ । हाल यी विद्यालयहरूमा करिब ३ हजार २ सय विद्यार्थी अध्ययनरत रहेका छन् । उपमहानगरपालिकाले विद्यार्थी तथा अभिभावकलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित अनलाइन आवेदन दिन आग्रह गरेको छ ।
तुलसीपुर नगर क्षेत्रमा देशका जुनसकै जिल्लाबाट पढ्न आएका विद्यार्थीले छात्रवृत्ती कोटामा पर्नका लागि परीक्षमा सामेलन हुन पाउने छन् तर स्थानीयलाई २ अंक बढी दिइने छ ।
















