दाङ । दाङको तुलसीपुरस्थित गोरखा आवासीय माध्यमिक विद्यालयमा शुक्रबार विभिन्न सचेतनामूलक कार्यक्रमका साथ विश्व वातावरण दिवस मनाइएको छ ।
‘प्रकृतिको रक्षा नै मानव जीवनको रक्षा हो’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै विद्यालयले विद्यार्थीहरूमा वातावरणीय चेतना जगाउने उद्देश्यले विविध गतिविधि सञ्चालन गरी दिवस मनाएको हो ।
विद्यालयका प्रधानाध्यापक रबिन खड्काले आजको सानो प्रयासले नै भोलिको सुन्दर र स्वस्थ पृथ्वीको निर्माण गर्ने बताउनुभयो । ‘आज हामीले प्रकृतिको रक्षा गर्यौँ भने मात्र भोलि प्रकृतिले हाम्रो रक्षा गर्नेछ ।’ प्रधानाध्यापक खड्काले भन्नुभयो–‘विद्यालय स्तरबाटै रोपिएको प्रत्येक बोटबिरुवा, जोगिएको प्रत्येक प्राकृतिक स्रोत र चालिएको प्रत्येक हरित कदम स्वस्थ पृथ्वीतर्फको एउटा महत्त्वपूर्ण पाइला हो ।’
दिवसका अवसरमा विद्यालय परिसर तथा आसपासका क्षेत्रमा वृक्षारोपण गरिनुका साथै पर्यावरण संरक्षणको महत्वबारे विद्यार्थीले र्याली समेत निकालेका थिए । कार्यक्रममा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।


















