दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको नयाँ जिल्ला कार्यसमिति चयन भएको छ । शनिबार भएको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो ।
अधिवेशनबाट जिल्ला सभापतिमा किरण खनाल निर्वाचित हुनुभएको छ । सभापति पदमा खनालले १९६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी बिनय घिमिरेले १२४, केदार रजौरेले ६ र किरण आचार्यले २ मत प्राप्त गर्नुभएको छ ।
पार्टीको जिल्ला अधिवेशनमा सभापतिसहित उपसभापति, सचिव र सहसचिव पदका लागि मतदान भएको थियो । निर्वाचनबाट उपसभापतिमा निराजन थापा, सचिवमा असिम भुसाल र सहसचिवमा प्रमिला रोका मगर निर्वाचित हुनुभएको छ ।
उपसभापति पदमा थापाले २४१ मत प्राप्त गर्दा सुनिता रावतले ८९ मत प्राप्त गर्नुभएको छ । यस्तै सचिव पदमा असिम भुसालले २०० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी बलिराम खत्रीले १२३ मत प्राप्त गर्नुभएको छ ।
सहसचिव पदमा प्रमिला रोका मगर १४८ मतसहित निर्वाचित हुनुभएको छ । सहसचिव पदका अन्य उम्मेदवार दिपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएसँगै रास्वपा दाङले आगामी संगठन विस्तार, पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तारका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।


















