२०८३ जेष्ठ ३० गते शनिवार

चमेरेगुफानजिकको खुला मैदानमा परीक्षा !

दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीहरूले ऐतिहासिक पर्यटकीयस्थल चमेरेगुफाको अवलोकन गर्नुका साथै गुफा नजिककैको खुला मैदानमा बसेर परीक्षा दिएका छन् ।

तुलसीपुर–७ झुमरेस्थित हाम्रो पहुँच सेकेन्डरी स्कुलको कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूले प्रयोगात्मक अभ्यास अन्तर्गत शनिबार मूलकोटस्थित चमेरेगुफाको स्थलगत अवलोकन गरेका हुन् । अवलोकनकै क्रममा विद्यालयले नियमित सञ्चालन गर्ने मासिक परीक्षासमेत विद्यार्थीहरूले गुफा नजिकैको खुला मैदानमा बसेर दिएका छन् ।

स्थानीय पाठ्यक्रमअन्तर्गत तुलसीपुर–४ मूलकोटमा रहेको ऐतिहासिक चमेरेगुफाको विषयमा अध्ययन गर्नुपर्ने हुन्छ । सोही पाठ्यक्रमको प्रयोगात्मक अभ्यास अन्तर्गत विद्यार्थीहरूलाई त्यहाँ पुर्‍याइएको विद्यालयका प्रधानाध्यापक शिव पुनले जानकारी दिनुभयो ।

स्थलगत अध्ययनका क्रममा विद्यार्थीहरूले गुफाको ऐतिहासिक महत्व, गुफास्थलसम्म पुग्ने सडक पूर्वाधारको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका छन् । यस्तै उनीहरूले स्थानीय नागरिकसँग चमेरेगुफा क्षेत्रको अन्य विकास र सम्भावनाका विषयमा अन्तर्क्रिया र छलफलसमेत गरेका छन् ।

प्रधानाध्यापक पुनका अनुसार विद्यालयले स्थानीय पाठ्यक्रममा समेटिएका तुलसीपुर क्षेत्रका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलहरूको भौतिक रूपमै अध्ययन–अवलोकन गराउँदै आएको छ ।

नगरभित्रका यस्ता सम्पदाहरूको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार कसरी गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरूले सरोकारवालासँग छलफल गर्ने र त्यसको प्रतिवेदन सम्बन्धित शिक्षकलाई बुझाउने गरेका छन् ।

प्राकृतिक र खुला वातावरणमा बसेर परीक्षा दिनु आफ्नो लागि पहिलो र निकै रोचक अनुभव भएको बताउँदै विद्यार्थीहरूले खुसी व्यक्त गरेका छन् । विद्यार्थी आशिका भुषालले किताबमा पढेको कुरा वास्तविकरुपमा देख्दा बुझ्‌न सजिलो भएको बताउनुभयो । व्यावहारिक सिकाइले किताबी ज्ञानलाई वास्तविक रूपमा बुझ्न सघाएको विद्यालयले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस