दाङ । दाङको राप्ती गाउँपालिकाले दुई दिन गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण पालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन गर्मी बिदा दिईएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आज बुधबार एक सूचना जारी गर्दै असार ४ र ५ गते विद्यालयहरूमा बिदा दिने निर्णय गरेको जनाएको हो । उक्त बिदा वार्षिक रूपमा प्रदान गरिँदै आएको बिदाबाट कट्टी हुने गरी व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ ।
हाल बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिम बढेकाले सावधानीस्वरूप बिदा दिएको सूचनामा भनिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकद्वारा हस्ताक्षरित सूचनामार्फत पालिकाभित्रका सबै विद्यालयलाई निर्णयबारे जानकारी गराइएको छ ।



















