२०८३ असार १२ गते शुक्रवार

लक्ष्मी सनराइज बैंकबाट राप्ती बबई क्याम्पसलाई स्मार्ट बोर्ड


तुलसीपुर।
संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत लक्ष्मी सनराइज बैंक, तुलसीपुर शाखाले राप्ती बबई क्याम्पसलाई करिब रु. १ लाख ६० हजार मूल्य बराबरको स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ।


शुक्रबार आयोजित कार्यक्रममा क्याम्पस प्रमुख गणेश पार्धेको अध्यक्षता, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष मीनराज ओलीको प्रमुख आतिथ्यता तथा लक्ष्मी सनराइज बैंक तुलसीपुर शाखाका शाखा प्रबन्धक रञ्जन कोइरालाको विशिष्ट आतिथ्यतामा स्मार्ट बोर्ड हस्तान्तरण गरिएको हो।


कार्यक्रममा प्रमुख अतिथि ओलीले प्रविधिमैत्री शिक्षाको आवश्यकता दिनप्रतिदिन बढ्दै गएकाले स्मार्ट बोर्डले शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, गुणस्तरीय र विद्यार्थीमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले निजी क्षेत्रले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षामा गरेको लगानी प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।


विशिष्ट अतिथि कोइरालाले लक्ष्मी सनराइज बैंकले बैंकिङ सेवासँगै शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले आधुनिक प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो।


अध्यक्षता गर्नुभएका क्याम्पस प्रमुख पार्धेले बैंकको सहयोगले क्याम्पसमा प्रविधिमैत्री शिक्षण वातावरण विस्तार गर्न महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो। उहाँले क्याम्पसको आवश्यकता पहिचान गरी सहयोग गरेकोमा लक्ष्मी सनराइज बैंकप्रति आभार व्यक्त गर्नुभयो।


कार्यक्रममा बैंकका प्रतिनिधि, क्याम्पस सञ्चालक समितिका पदाधिकारी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख सुशीलकुमार पन्थीले गर्नुभएको थियो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस