२०८३ साउन ११ गते सोमवार

हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीलाई उद्घोषण तालिम सुरु

दाङ । तुलसीपुरस्थित हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाद्वारा संचालित हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीका लागि आज (मंगलबार) देखि तीन दिने उद्घोषण तालिम सुरु भएको छ ।

संस्थाद्वारा नै संचालित रेडियो हाम्रो पहुँचको आयोजनामा कक्षा ११ मा अध्ययनरत ७० जनाभन्दा बढी विद्यार्थीका लागि यो तालिम आयोजना गरिएको हो ।

तालिमको उद्घाटन मंगलबार बिहान एक विशेष समारोहका बीच गरिएको छ । संस्थाका अध्यक्ष एवं रेडियो संचालन उपसमितिका संयोजक शुक्रराज भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले हाम्रो पहुँचले समाजका लागि आवश्यक सीपयुक्त जनशक्ति उत्पादनमा जोड दिँदै आएको बताउनुभयो ।

उहाँले शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने धारणा राख्दै प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न उद्घोषण कला र वक्तृत्व सीप महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं विद्यालय संचालन उपसमितिका संयोजक कृष्णप्रसाद पोखरेलले आधुनिक युगमा हरेक पेसा र व्यवसायमा बोल्ने कला अनिवार्य भइसकेको बताउनुभयो । उहाँले हाम्रो पहुँचमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानका साथै यस्ता व्यवहारिक सीपहरूसमेत अनिवार्य रूपमा प्रदान गर्ने गरिएको जानकारी दिनुभयो ।

यस्तै, संस्थाका प्रमुख कार्यकारी अधिकृत डिआर भण्डारीले बजारमा ’टिक्ने र बिक्ने’ प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न संस्था निरन्तर लागिपरेको बताउनुभयो । शिक्षासँगै उद्घोषण र सञ्चार सीपको विकासले विद्यार्थीको व्यक्तित्व निर्माणमा ठूलो सघाउ पुग्ने उहाँको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक शिव पुनले विद्यार्थीहरूको चौतर्फी विकास र क्षमता अभिवृद्धिका लागि विद्यालयले सधैं अतिरिक्त क्रियाकलपमा प्राथमिकता दिँदै आएको स्पष्ट पार्नुभयो । उद्घाटन कार्यक्रममा संस्थाका सचिव जीवराज अधिकारीको पनि उपस्थिति रहेको थियो ।

रेडियो हाम्रो पहुँचका समाचार प्रमुख जीतसागर जी.एम.को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्टेशन म्यानेजर बसन्त पौडेलले गर्नुभएको थियो । तालिम आगामी बिहीबारसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस