तुलसीपुर । नेपाल स्वास्थ्य प्राविधिक संघ दाङले आफ्नो ४८औँ स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम तुलसीपुरमा निःशुल्क स्वास्थ्य परीक्षण तथा खाद्यान्न सामग्री वितरण गरेको छ।
मंगलबार आयोजित कार्यक्रममा आश्रममा आश्रित व्यक्तिहरूको रक्तचाप तथा मधुमेह परीक्षण राप्ती लाइफ केयर अस्पतालकाे प्राविधिक सहयाेगमा निःशुल्क गरिएको हाे । स्वास्थ्य परिक्षणसंगै आश्रममा आवश्यक खाद्यान्न सामग्री पनि हस्तान्तरण गरिएको छ ।
संघका दाङ जिल्ला अध्यक्ष दोर्णबहादुर ओलीको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश संयोजक ध्रुवकुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि पोखरेलले नेपाल स्वास्थ्य प्राविधिक संघ विशुद्ध पेशागत स्वास्थ्यकर्मीहरूको संगठन भएको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरूको हकहित, पेशागत सुरक्षा र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सबै स्वास्थ्य प्राविधिकहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।
स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोडेर विगतदेखि नै रचनात्मक कार्यक्रम गर्दै आएकोमा उहाँले दाङ शाखाको प्रशंसा गर्नुभयो।
केन्द्रीय सचिव ओमपी न्यौपानेले स्वास्थ्य सेवा र मानवीय सेवा एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै सेवा प्रवाहसँगै समाजप्रतिको दायित्व निर्वाह गर्नु स्वास्थ्यकर्मीको कर्तव्य भएको बताउनुभयो।
यस्ता सामाजिक तथा मानवीय कार्यले स्वास्थ्यकर्मीप्रतिको जनविश्वास अझ बलियो बनाउने उहाँको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष एवं दाङ जिल्ला अध्यक्ष दोर्णबहादुर ओलीले स्थापना दिवसको अवसरमा हरेक वर्ष मानव सेवा आश्रममा पुगेर मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले स्थापना दिवसको अवसरमा मंगलबारदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आगामी छ दिनसम्म हरेक दिन फरक–फरक रचनात्मक गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो।

मानव सेवा आश्रम दाङ शाखाका प्रमुख हिरू जोशीले आश्रममा आश्रित व्यक्तिहरूप्रति देखाइएको सहयोग र सद्भावका लागि नेपाल स्वास्थ्य प्राविधिक संघ दाङप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा केन्द्रीय सदस्य विष्णुकुमार गिरी, केन्द्रीय सल्लाहकार विमल केसीलगायत संघका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। संघका उपाध्यक्ष तथा केन्द्रीय सदस्य लक्ष्मी ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण दाङ जिल्ला सचिव रामेश्वर आचार्यले गर्नुभएको थियो।



















