दाङ । तीन वर्ष पूरा भएका शिक्षकको सरुवा एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयलमा सरुवा हुने भएको छ ।सरकारले स्वीकृत गरेको शिक्षा नियमावलीमा ‘स्थायी सेवा अवधि तीन वर्ष पूरा भएका शिक्षकलाई एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवा गर्न सकिने उल्लेख छ ।
तर अपाङ्गता, अरूको सहायतामा हिँड्डुल गर्नुपर्ने अशक्त, गर्भवती र दुई वर्षभन्दा कम उमेरको बच्चा भएको महिलाको हकमा भने यो नियम लागु हुने छैन । सरुवा गर्दा आधारभूत तहको कक्षागत शिक्षकलाई समान तहको रिक्त पदमा, आधारभूत तहको विषयगत र माध्यमिक तहको शिक्षकलाई विषयगत रिक्त पदमा मात्र सरुवा गर्नु पर्ने प्रावधान नियमावलीमा राखिएको छ ।
सामुदायिक विद्यालयका लागि सरकारबाट स्वीकृत भई दरबन्दीमा कार्यरत शिक्षक सरुवा भई अन्यत्र गएमा, अनिवार्य अवकाश भएमा, मृत्यु भएमा, स्वेच्छिक अवकाश लिएमा, प्रचलित कानुनबमोजिम सेवाबाट हटाइएको, बर्खास्त गरिएको सूचना विद्यालयमा प्राप्त भएमा वा नयाँ दरबन्दी थप भएको अवस्थामा शिक्षक पद रिक्त भएको मानिने भएको छ ।
रिक्त शिक्षक पदको विवरण केन्द्रको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा विद्यालयले प्रविष्ट गरी पद रिक्त भएको मितिले सात दिनभित्र सम्बन्धित स्थानीय तहलाई लिखित रूपमा अनिवार्य जानकारी दिनु पर्ने प्रावधान नियमावलीमा राखिएको छ । तर अनिवार्य अवकाश हुने भई शिक्षकको पद रिक्त हुने भएमा ३० दिन अगावै सरुवासम्बन्धी प्रक्रिया अगाडि बढाउन सकिने छ ।



















