२०८३ साउन ६ गते बुधवार

वड्कापथबाट सिँचाइ हुन थालेपछि दाङका किसान हर्षित


दाङ । बड्कापथ सिँचाइ आयोजना अन्तर्गत मूल नहरबाट पानी सञ्चालनमा आएपछि दाङका किसानलाई धान खेतीका लागि ठूलो राहत पुगेको छ । वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसानले अहिले नहरको पानी खेतसम्म पुगेपछि समयमै रोपाइँसँगै सिँचाइ गर्न पाएका छन् ।

झण्डै १२ वर्षदेखि निर्माणाधीन रहेको वड्कापथ सिँचाइ आयोजना करिब चार हजार हेक्टर कृषि जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सञ्चालन भइरहेको छ । आयोजना अन्तर्गत झण्डै १५ किलोमिटर लामो पक्की मूल नहर निर्माण सम्पन्न भएपछि अहिले परीक्षणका रूपमा पानी सञ्चालन गरिएको हो ।

गढवा गाउँपालिका–२ कोठरीका किसानहरूले स्थानीयस्तरमै पक्की डुर निर्माण गरी मूल नहरको पानी खेतसम्म पुर्याएका छन् । गाउँका अगुवा सोमप्रसाद चौधरीको नेतृत्वमा किसानहरू सामूहिक रूपमा जुटेर धान खेतमा पानी पुर्याउन सफल भएका हुन् । किसानहरूको सक्रियता र आपसी सहकार्यका कारण केही दिनअघिसम्म सुक्खा देखिएका खेतहरू अहिले हराभरा बन्न थालेका छन् ।

स्थानीय किसानका अनुसार समयमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुने चिन्ता थियो । तर नहरमा पानी सञ्चालन भएपछि रोपिएका खेतमा सिँचाइ गर्न सहज भएको छ भने अझै बाँकी रहेका खेतमा पनि रोपाइँको काम तीव्र गतिमा अघि बढेको छ । सिँचाइको सुविधा उपलब्ध भएपछि उत्पादन वृद्धि हुने र खेतीपातीप्रति किसानको उत्साह समेत बढेको उनीहरूको भनाइ छ ।

किसान सोमप्रसाद चौधरीले विगतका वर्षहरूमा वर्षा नहुँदा धानबाली सुक्ने, उत्पादन घट्ने तथा ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था रहेको बताउँदै यस वर्ष नहरको पानी सञ्चालन भएपछि किसानमा नयाँ आशा पलाएको बताउनुभयो । उनले नहरबाट नियमित रूपमा पानी उपलब्ध भएमा यस क्षेत्रको कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने बताउनुभयो ।

आयोजनाका प्राविधिकहरूका अनुसार मुख्य संरचनाको काम क्रमशः सम्पन्न हुँदै गएको छ । नहर सञ्चालनसँगै विभिन्न शाखा नहर र वितरण प्रणालीलाई पनि व्यवस्थित बनाउने काम भइरहेको छ । सबै संरचना पूर्ण रूपमा सञ्चालनमा आएपछि आयोजना क्षेत्रका हजारौँ किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

स्थानीयवासीले आयोजनाको बाँकी निर्माण कार्य पनि छिटो सम्पन्न गरी सम्पूर्ण सिँचित क्षेत्रमा नियमित रूपमा पानी पुर्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । किसानहरूले वड्कापथ सिँचाइ आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि यस क्षेत्रको कृषि उत्पादन, खाद्य सुरक्षा र किसानको आम्दानीमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस