दाङ । मनसुन प्रणाली सक्रिय रहेकाले पर्सि शनिबारसम्म देशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
राति मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि देशका पहाडी भूभागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
विशेष गरी भोलि राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा तथा मधेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक/दुई ठाउँमा ठूलोदेखि अति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पर्सि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लगातार वर्षा र केही ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना रहेकाले नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज दाङ, पाल्पा, कपिलवस्तु, रुपन्देही, सिन्धुपाल्चोक, दोलखा, भोजपुर र आसपासका जिल्ला भई बहने नदीहरूमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै इलाम, पाँचथर, गोरखा, अर्घाखाँची, काठमाण्डौ, चितवन, डोटी, डडेलधुरा, पश्चिम नवलपरासी, बर्दिया र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा पनि आकस्मिक बाढीको जोखिम छ । भोलि र पर्सि पनि बाढीको जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।



















