२०८३ साउन ६ गते बुधवार

हापुरखोलामा निर्माणाधीन चार लेन पुलको भौतिक प्रगति ३० प्रतिशत


दाङ । दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत पर्ने हापुरखोलामा निर्माणाधीन चार लेन पुलको भौतिक प्रगति ३० प्रतिशत भएको छ । पुल निर्माणको काम सुरु भएको करिब छ महिनाको अवधिमा ३० प्रतिशत भौतिक प्रगति भएको हो ।

घोराही र तुलसीपुर उपमहानगरपालिकाको सीमामा रहेको हापुरखोलामा पुल निर्माणका लागि २०७९ असार २९ गते २७ करोड ८४ लाख ३१ हजार सात सय रुपियाँमा शर्मा सगुन जेभी रुपन्देहीसँग ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार २०८२ पुस महिनामा पुल निर्माणको काम सकिनुपर्ने भए पनि ढिला काम सुरु भएपछि दुई वर्षका लागि म्याद थप गरिएको थियो । पुल रेक्टर कार्यालय नेपालगन्जका इन्जिनियर सुरेश चौधरीले पुल निर्माणका लागि म्याद थपपछि सुरु भएको पुलको अहिले करिब ३० प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो ।

इन्जिनियर चौधरीका अनुसार निर्माण कम्पनीले पुलका चार वटा पिल्लरमध्ये तीन वटा पिल्लरको फाउन्डेसन र अरू संरचना निर्माणको काम सकेको छ । बर्सातको समय सुरु भइसकेकाले बाँकी काम आगामी आर्थिक वर्षमा हुने दाबी इन्जिनियर चौधरीको छ । म्याद थप अनुसार अब निर्माण कम्पनीले पुल निर्माणको काम २०८४ भदौ २८ गतेसम्म सम्पन्न गर्नुपर्ने छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस