दाङ । आज र भोलि दाङसहित देशका केही ठाउँमा आरी घोप्टे र मुसलधारे वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका धेरै ठाउँमा आरी घोप्टे र मुसलधारे वर्षाको सम्भावना रहेको हुँदा सावधानी अपनाउन आग्रह गरिएको छ ।
महाशाखाका अनुसार पहाडी तथा तराई क्षेत्रमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना छ । यसैगरी, लुम्बिनी प्रदेशको दाङसहित आसपासका क्षेत्रमा पनि लगातारको वर्षाका कारण आकस्मिक बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढेको छ ।
दाङका खहरे खोलाहरू, बबई र राप्ती नदी किनारका बस्तीहरू तथा पहिरोको जोखिम रहेका पहाडी क्षेत्रका नागरिकलाई थप सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । वर्षाका कारण शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने र यातायात सेवा प्रभावित हुन सक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन भनिएको छ ।
विपद् प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय पालिका र स्वयंसेवकहरूलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दाङसहित जोखिमयुक्त राजमार्ग र सडकहरूमा पहिरो पन्छाउन डोजर, एक्स्काभेटर र लोडर जस्ता उपकरणहरू तयारी अवस्थामा राखिएको छ ।



















