२०८३ साउन ६ गते बुधवार

घोराहीका ९२ प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको पहुँच


दाङ । घोराही उपमहानगरपालिकाले हालसम्म ९२ प्रतिशत घरधुरीमा खानेपानीको पहुँच विस्तार गरेको जनाएको छ । स्थानीय सरकार गठनपछि अघि सारिएको ‘एक घर, एक धारा’ अभियान अन्तर्गत विभिन्न खानेपानी आयोजनामार्फत अधिकांश नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याइएको उपमहानगरले जनाएको छ ।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले सङ्घीय तथा प्रदेश सरकारका सम्बन्धित निकाय, उपभोक्ता समिति तथा स्थानीय समुदायको सहकार्यमा हालसम्म १०८ वटा कुवा र ७७ वटा डिप बोरिङ निर्माण गरिएको जानकारी दिनुभयो ।

उहाँले यी पूर्वाधारमार्फत खानेपानीको पहुँच नपुगेका बस्तीमा सुरक्षित पानी उपलब्ध गराइएको बताउनुभयो । उहाँले खानेपानी पुर्‍याउन नसकिएको ठाउँमा समुदाय, प्रदेश र सङ्घीय सरकारको सम्बन्धित निकायसँग नियमित छलफल गरिरहेको बताउनुभयो ।

उहाँका अनुसार खानेपानीको पहुँच विस्तारसँगै नगरवासीको दैनिक जीवनयापन गर्नमा सहज भएको छ । उहाँले सुरक्षित तथा स्वच्छ खानेपानी उपलब्ध हुँदा पानीजन्य रोगको जोखिम न्यूनीकरण हुनुका साथै पानीको जोहो गर्न खर्चिने समय पनि घटेको बताउनुभयो ।

नगरप्रमुख चौधरीले अझै खानेपानीको पहुँच नपुगेका बस्तीमा समेत क्रमशः योजना विस्तार गर्दै शतप्रतिशत घरधुरीमा स्वच्छ खानेपानी सेवा पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो । राष्ट्रिय जनगणना–२०७८ अनुसार घोराही उपमहानगरपालिकामा ४९ हजार ७६१ घरधुरी र कुल दुई लाख ५३० जनसङ्ख्या रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस