तुलसीपुर । नेशनल प्याब्सन दाङले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, सिर्जनात्मक र विद्यार्थीमैत्री बनाउन शिक्षकहरूका लागि आइतबार एकदिने क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ ।
शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्दै विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ वातावरण निर्माण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
नेशनल प्याब्सन दाङका अध्यक्ष सालिकराम कार्कीको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुवोधकुमार डाँगीको प्रमुख आतिथ्यतामा तालिम संचालन भएको हो । उद्घाटन कार्यक्रममा एन प्याब्सन तुलसीपुर नगर अध्यक्ष सुमन केसीले मन्तव्य राख्नुभएको हो ।
तालिममा जिल्लाभरका १७ वटा संस्थागत विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो । तालिममा तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत मनबहादुर खड्काले सहजीकरण गर्दै प्रभावकारी शिक्षण विधि, कक्षाकोठा व्यवस्थापन, विद्यार्थी केन्द्रित सिकाइ तथा समसामयिक शैक्षिक अभ्यासका विषयमा प्रशिक्षण दिनुभएको छ ।
नेशनल प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद डाँगीको स्वागत मन्तव्यबाट भएको कार्यक्रमको सञ्चालन सचिव छविकुमार वलीले गर्नुभएको हो ।



















