दाङ। आर्थिक अभावका कारण उच्च तथा प्राविधिक शिक्षा छाड्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले लमही नगरपालिका–७ ले सञ्चालन गरेको निःशुल्क छात्रवृत्ति कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
वडा कार्यालयका अनुसार हाल स्नातक र प्राविधिक शिक्षातर्फ गरी १०३ जना विद्यार्थीले निःशुल्क अध्ययन गरिरहेका छन् । स्नातकतर्फ ७७ जना र प्राविधिक शिक्षातर्फ २६ जना विद्यार्थी छात्रवृत्तिबाट लाभान्वित भएका हुन् ।
उचानिम्बुका सागर चौधरी र हसनापुरकी प्रमिला केसीले आर्थिक अभावका कारण उच्च शिक्षा निरन्तरता दिन कठिन भए पनि वडा कार्यालयले भर्ना तथा मासिक शुल्क व्यवस्थापन गरिदिएपछि ढुक्क भएर अध्ययन गर्न पाएको बताएका छन् ।
वडा अध्यक्ष मोहन गिरीका अनुसार आर्थिक वर्ष २०८०/८१ देखि सञ्चालनमा आएको कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ । यस वर्ष मात्रै छात्रवृत्ति कार्यक्रमका लागि २२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
देउखुरी बहुमुखी क्याम्पसका प्रमुख शिव वलीका अनुसार क्याम्पसमा लमही नगरपालिकाका विभिन्न वडाका २०६ जना विद्यार्थी छात्रवृत्तिमा अध्ययनरत छन् । कार्यक्रमले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई उच्च शिक्षामा पहुँच बढाउन महत्वपूर्ण सहयोग पुगेको छ ।



















