दाङ । तुलसीपुर उपमहानगरपालिका–३ स्थित दाङको पर्यटकीय गन्तव्य ‘साततले गुफा’ संरक्षण र प्रवद्र्धनको अभावमा ओझेलमा परेको छ । राप्ती लोकमार्गदेखि करिब २०० मिटर उत्तरमा रहेको यो गुफा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।
गुफाभित्र बाजा बजेझैँ आवाज आउने, हातीको सुँड, चिल तथा गाग्रीको मुखजस्ता आकृतिका ढुंगाले पर्यटकलाई आकर्षित गरेको छ । वरपरका झरना, पोखरी र पौडी खेलिरहेका माछाले पनि यस क्षेत्रको सौन्दर्य थप बढाएका छन् ।
स्थानीयका अनुसार केही वर्षअघिसम्म दैनिक सयभन्दा बढी पर्यटक आउने गरे पनि प्रचारप्रसारको कमीका कारण अहिले दैनिक १०–१२ जनामा सीमित भएका छन् । स्थानीयवासीले उचित संरक्षण र पूर्वाधार विकास भए आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।
वडा अध्यक्ष वीरबहादुर विकका अनुसार स्थानीयसँगको छलफलका आधारमा गुफाको संरक्षण, प्रचारप्रसार तथा पूर्वाधार विकासका कार्यक्रम अगाडि बढाइनेछ। उहाँले गुफाको प्रवद्र्धनले तुलसीपुरको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।



















