२०८३ असोज १ गते बिहिवार

गढवा पञ्चैबाजा बन्यो संस्कृति संरक्षणको उदाहरण


दाङ । दाङको गढवा गाउँपालिकामा लोपोन्मुख पञ्चैबाजा संरक्षण अभियानले उल्लेखनीय सफलता हासिल गर्दै संस्कृति संरक्षणसँगै स्वरोजगारको माध्यम बनेको छ ।

२०७६ सालमा मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दुई लाख रुपैयाँको बजेटबाट सुरु गरिएको अभियान अहिले तीनवटा दक्ष पञ्चैबाजा टोली र ३२ जना स्वरोजगार जनशक्ति उत्पादन गर्न सफल भएको छ ।

गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रले विभिन्न सरकारी निकायको सहयोगमा बाजागाजा खरिद, तालिम सञ्चालन तथा आवश्यक सामग्री व्यवस्थापन गर्दै आएको छ ।

परम्परागत रूपमा दलित समुदायमा सीमित रहेको पञ्चैबाजा बजाउने अभ्यास अहिले ब्राह्मण, क्षेत्री, जनजाति तथा महिलाको समेत सहभागितासहित समावेशी बनेको छ । बाजा बजाएर प्राप्त आम्दानीको केही हिस्सा संस्थागत कोषमा जम्मा गर्दै केन्द्रले आफ्नै घडेरी समेत खरिद गरेको छ ।

पञ्चैबाजाको मिनी सांस्कृतिक संग्रहालय स्थापना भएपछि विद्यार्थीहरूको अध्ययन र अवलोकनका लागि आकर्षणसमेत बढेको छ । बाजा बजाएर पाएको पारिश्रमिकको २५ प्रतिशत संस्थाको कोषमा जम्मा गर्दै गर्दा संस्थाले ९ लाख रुपैयाँ लगानी गरेर आफ्नै घडेरी किन्न सफल भएको छ ।

दाङको बंगलाचुली, तुलसीपुर, लमही र बाहिरी जिल्ला रोल्पा, रुकुम, सल्यानलगायतका जिल्लाहरुमा पुगेर प्रशिक्षण दिई बाजा बजाउने दक्ष टिम समेत तयार गरेको संस्थाका अध्यक्ष दयाराम थापाले जानकारी दिनुभयो । हाल गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका तीन वटा टिमहरुमा ३२ जना दक्ष जनशक्ति तयार भएको र सबैजना स्वरोजगारसँग जोडिएको अध्यक्ष थापाले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस