२०८३ भाद्र १ गते सोमवार

मतदान अधिकृतमाथि मोबिल छर्किएको आरोपमा वडा सदस्य पक्राउ


दाङ । दाङमा विद्यालय व्यवस्थापन समितिको निर्वाचनका क्रममा मतदान अधिकृतमाथि मोबिल छर्किएको घटनामा संलग्न रहेको आरोपमा वडा सदस्य पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य उत्तम बुढाथोकीलाई सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभएको छ ।

प्रहरी नायब उपरीक्षक केसीका अनुसार पक्राउ परेका बुढाथोकीले असार २७ गते बिहान घोराही उपमहानगरपालिका–१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा खटिएका मतदान अधिकृतलाई मतदान केन्द्रतर्फ मोटरसाइकलमा जाँदै गरेको समयमा रोकी शरीरमा मोबिल छर्किएको आरोप लागेको छ ।

मतदान अधिकृतका रूपमा घोराही उपमहानगरपालिका शिक्षा शाखा अधिकृत अजय बोहोरा खटिनुभएको थियो । घटनापछि असार २८ गते अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा मुद्धा दर्ता गरिएको थियो ।

मुद्दा दर्तासँगै दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सोमबार घोराही उपमहानगरपालिका–१५ रतनपुर निवासी बुढाथोकीलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस