२०८३ साउन ६ गते बुधवार

आयुर्वेदिक उपचारप्रति बढ्दै विश्वास


दाङ ।आयुर्वेदिक उपचारप्रति सर्वसाधारणको विश्वास बढ्दै जाँदा दाङको तुलसीपुर–१८ बिजौरीस्थित प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा सेवा लिने बिरामीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ । कुनै समय सुनसान देखिने चिकित्सालय अहिले दैनिकजसो बिरामीको चापले व्यस्त बन्न थालेको छ ।

चालु आर्थिक वर्षमा चिकित्सालयबाट १ लाख ६२ हजार ५४२ जनाले विभिन्न आयुर्वेदिक स्वास्थ्य सेवा लिएको अस्पतालका निमित्त निर्देशक डा. प्रवेश श्रीवास्तवले जानकारी दिनुभयो । सोमबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले पछिल्लो समय विशेषगरी पञ्चकर्म र स्वर्ण प्राशन सेवा अत्यन्त लोकप्रिय बन्दै गएको बताउनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा मात्रै ५ हजारभन्दा बढी बालबालिकाले स्वर्ण प्राशन सेवा लिएका छन् । रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वासका कारण अभिभावकको आकर्षण यो सेवातर्फ बढ्दै गएको उहाँको भनाइ छ ।

डा. श्रीवास्तवले भारतका आयुर्वेदिक अस्पतालमा उपलब्ध हुने अधिकांश आधुनिक आयुर्वेदिक उपचार तथा सेवा अहिले बिजौरीस्थित चिकित्सालयमै उपलब्ध रहेको उल्लेख गर्नुभयो । अस्पतालमा अहिले दाङसहित छिमेकी जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने क्रम बढेको उहाँले बताउनुभयो ।

बिरामीको चाप निरन्तर बढ्दै गए पनि भवनको अभाव, सीमित पूर्वाधार र पर्याप्त जनशक्ति नहुँदा सेवा विस्तार गर्न चुनौती भइरहेको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०८१/०८२ मा चिकित्सालय ५० शैयामा स्तरोन्नति भए पनि कर्मचारी दरबन्दी भने २०५८ सालकै संरचनाअनुसार रहेको उहाँको भनाइ छ ।

उहाँले बढ्दो सेवा मागलाई मध्यनजर गर्दै चिकित्सालयको भौतिक पूर्वाधार विस्तार, जनशक्ति थप तथा आवश्यक उपकरण व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस