२०८३ साउन ६ गते बुधवार

पातेटाकुरा पुल सञ्चालनमा आएपछि स्थानीयको आवतजावत सहज


दाङ ।
गहतेखोला बाघमारे सडकखण्डको पातेटाकुरा खोलामा निर्माण गरिएको पुल सञ्चालनमा आएको छ । शान्तिनगर गाउँपालिका वडा नं ३ मा पर्ने पातेटाकुरामा निर्माण भएको उक्त पुल सञ्चालनमा आएको हो ।

लुम्बिनी प्रदेश सरकारको लगानीमा सडक पूर्वाधार विकास कार्याालय, दाङमार्फत उक्त पुल निर्माण भएको हो । उक्त पुलले तुलसीपुर उपमहानगरपालिका–१ र शान्तिनगर गाउँपालिका–३ लाई जोडेको छ । पुल निर्माण नहुँदा आवत जावतमा निकै कठिनाइ हुने गरेको थियो ।

पुल बनेपछि उक्त समस्या हटेको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको भनाइ छ । तोकिएको समयमै पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । २०८१ असार १६ गते मोरङको प्रेमा कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले कामको पुल निर्माणको जिम्मेवारी पाएको थियो ।

निर्माण व्यवसायीले यही असारमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । सम्झौता अनुरुप निर्माण सम्पन्न गरेकाले निर्माण व्यवसायीलाई सम्मान गरिएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष हुमकान्त सापकोटाले जानकारी दिनुभयो ।

कुल २० मिटर लम्बाइ र १० मिटर चौडाइको उक्त पुलको ठेक्का रकम मूल्य अभिवृद्धि करसहित रु चार करोड १० लाख ४४ हजार रहेको शान्तिनगर गाउँपालिका वडा नं ३ का अध्यक्ष मीनबहादुर केसीले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस