दाङ । तुलसीपुर उपमहानगरपालिका–११ ले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएका योजना तथा कार्यक्रमको विवरण सार्वजनिक गरेको छ । कार्यक्रममा वडा सचिव पदमकुमार भण्डारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको हो ।
वडाले चालु आर्थिक वर्षमा कुल ९८ लाख ९९ हजार ६ सय ९९ रुपैयाँ बजेट मध्ये ९७ प्रतिशत भौतिक तथा ९६.६५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । कुल ३६ योजना तथा कार्यक्रममध्ये ३५ वटा सम्पन्न भएका छन् भने १२ वटा पूर्वाधार आयोजना र २४ वटा कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार बेलटाकुरा–गुहेन्द्री–मोतिपुर सडक स्तरोन्नति, बेलटाकुरा रिङ रोड कालोपत्रे, विभिन्न स्थानमा सडक मर्मत, सिसी क्यामेरा जडान, विद्यालय मर्मत तथा अन्य पूर्वाधार विकासका काम सम्पन्न भएका छन् ।
त्यसैगरी वडा अध्यक्ष कप फुटबल प्रतियोगिता, तिज मिलन, दलित सशक्तीकरण, बुहारी सम्मान, जेष्ठ नागरिक सम्मान, छात्रवृत्ति वितरण, विद्यालय पोसाक सहयोग, योग तथा स्वास्थ्य प्रवद्र्धन, अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरणलगायत सामाजिक तथा लक्षित वर्गका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइएको छ ।
वडाले चालु आर्थिक वर्षमा ४३ लाख ४८ हजार ६ सय ६ रुपैयाँ राजस्व संकलन गरेको छ । साथै नागरिकता, घरबाटो, चारकिल्ला, वैदेशिक प्रयोजन लगायतका ३ हजार ६ सय ४१ वटा विभिन्न सिफारिस सेवा प्रदान गरिएको जनाएको छ ।
कार्यक्रममा सहभागी स्थानीयवासीले विकास निर्माण, सेवा प्रवाह तथा आगामी योजनाका विषयमा सुझाव दिएका थिए । वडाले नागरिकका सुझावलाई आगामी योजना तथा बजेट निर्माणमा समेट्ने प्रतिबद्धता जनाएको छ ।
यस्तै कार्यक्रममा वडा अध्यक्ष मानबहादुर रावतले वडाले स्थानीय नागरिकको हितमा काम गर्दै आएको बताउनुभयो । शिक्षा स्वास्थ्य क्षेत्रलाई मध्यनजर गरेर काम गर्ने र बजेट बिनियोजन गरेको बताउनुभयो ।
उहाँले सिमित बजेटका कारण जनताका सबै आकंक्षा पुरा गर्न नसेके पनि धेरै काम गरेको बताउनु भएको छ । उहाँले भोलिका दिनमा आफु जनप्रतिनिधि भएपनि नभएपनि जनतासंग आफ्नो सम्बन्ध नङ र मासु जस्तो रहने बताउनुभयो



















