दाङ । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा नेकपा (एमाले)सँगको सत्ता सहकार्यलाई निरन्तरता दिने विषयमा आन्तरिक छलफल अघि बढाएको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रमा विकसित राजनीतिक परिस्थितिका बाबजुद लुम्बिनीमा एमालेसँगको सहकार्य कायम राख्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।
उहाले यसअघि एमालेसँग भएको सहमतिअनुसार आलोपालो नेतृत्वको व्यवस्था कार्यान्वयन गर्ने विषयमा पनि छलफल भइरहेको बताउनुभयो । उहाका अनुसार यसबारे पार्टीको केन्द्रीय नेतृत्वलाई पनि जानकारी गराइ सकिएको छ ।
२०८१ सालमा कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेशमा सुरुमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बन्नु भएको थियो भने कांग्रेसले उहालाई समर्थन गरेको थियो । उक्त सहमतिअनुसार आलोपालो नेतृत्वको व्यवस्था कार्यान्वयन भए अब कांग्रेसले मुख्यमन्त्री पाउने अवस्था रहनेछ ।
केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि अधिकांश प्रदेशमा सरकारको समीकरण फेरिने चर्चा भइरहेका बेला लुम्बिनीमा भने पुरानै सहमतिअनुसार सत्ता सहकार्यलाई निरन्तरता दिने विषयमा दुवै दलबीच सकारात्मक छलफल भइरहेको स्रोतहरूको दाबी छ ।



















