दाङ । दाङको तुलसीपुर–६ स्थित हिमाल एकेडेमीमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई एक विशेष समारोहका बीच स्वागत गरिएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा शनिबार स्वागत कार्यक्रम भएको हो ।
कक्षा १२ की छात्रा कोपिला शाहीको अध्यक्षता तथा विद्यालय सञ्चालक समितिका सदस्य बलदेव शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि बलदेव शर्माले विद्यार्थीहरूलाई शैक्षिक सफलताको शुभकामना दिँदै मेहनत र लगनशीलताले नै मानिसलाई सफलताको शिखरमा पुर्याउने बताउनुभयो ।
उहाँले विद्यार्थीहरूले आफ्नो निश्चित उद्देश्यमा केन्द्रित भएर अध्ययन गर्नुपर्ने बताउनुभयो । यस्तै प्रधानाध्यापक मधुसुदन केसीले हिमाल एकेडेमीले केवल सैद्धान्तिक ज्ञान मात्र नभई सीप र संस्कारयुक्त जनशक्ति उत्पादनमा जोड दिँदै आएको बताउनुभयो ।
उहाँले विद्यार्थीहरूको चाहना र रुचिअनुसार शिक्षण सिकाइसँगै उनीहरूलाई विभिन्न रचनात्मक क्रियाकलापहरूमा समेत निरन्तर संलग्न गराउने गरेको बताउनुभयो ।
विद्यार्थी अञ्जु रेउलेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिक्षकहरू बासुदेव आचार्य, उमेश यादव र छात्रा शिक्षा विश्वकर्मा लगायतले नवआगन्तुक विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो ।
स्वागत समारोहलाई थप रोचक बनाउन विद्यार्थीहरूले विविध विधाका कला प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूद्वारा गीत, गजल र कविता वाचन गरिनुका साथै विभिन्न गीतहरूमा आकर्षक नृत्यसमेत प्रस्तुत गरिएको थियो ।




















