२०८३ साउन ६ गते बुधवार

पर्यटकको पर्खाइमा तुलसीपुरको गौरीगाउँ ताल


दाङ । तुलसीपुर उपमहानगरपालिका–१० मा रहेको गौरीगाउँ ताल पर्यटकको पर्खाइमा छ । तुलसीपुर बजारदेखि दक्षिणमा रहेको ताल पर्यटकीय दृष्टिकोणले निकै आकर्षक छ ।


सडक सञ्जालको सहज पहुँच र बजारबाट नजिकै रहेकाले यस ताललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने सम्भावना रहेको छ ।

तर प्रचारप्रसारको अभावमा ओझेलमा परेको सरोकारवालाले बताएका छन् । तालको प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभाव हुँदा यस क्षेत्रको पर्यटन प्रवद्र्धन हुन नसकेको हो ।

यो करिब आठ बिघा क्षेत्रफलमा फैलिएको छ । आफ्नै ऐतिहासिक विशेषता बोकेको यो ताल भएको ठाउँमा पहिले सातवटा छुट्टाछुट्टै तालहरू थिए । अहिले तालको बीच भागमा करिब एक करोडको लागतमा एउटा शिवमन्दिर निर्माण गरिएको छ ।

मन्दिरमा शिव, गणेश, सूर्य, देवी र विष्णु गरी पाँच वटा मूर्तिहरू स्थापना गरिएका छन् । आकर्षण तालको बीचमा रहेको मन्दिरसम्म पुग्नका लागि करिब ४५ मिटर लामो पुल निर्माण गरिएको स्थानीय रमेश बुढाथोकीले बताउनुभयो ।

वर्षायामको पानी सङ्कलन हुने यस तालमा वर्षैभरि पानी रहिरहने र यहाँ व्यावसायिक रूपमा माछापालनसमेत गर्ने गरिएको उहाँको भनाइ छ । स्थानीयका अनुसार यो बाटो भएर हिँड्ने यात्रुले फाट्टफुट्ट तस्बिर खिच्ने गरे पनि तालकै अवलोकनका लागि आउनेको सङ्ख्या भने कम छ ।

यो ताललाई व्यवस्थित गरी उचित प्रचारप्रसार गर्न सके दाङ जिल्लाकै एक प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय उत्तम चौधरीले बताउनुभयो । तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काले गौरीगाउँ ताललाई पर्यटकीय गन्तव्य बनाउनेतर्फ पहल थालिएको बताउनुभयो । थप भौतिक पूर्वाधार निर्माण गरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न योजनाबद्ध पहल थालिएको भन्दै नगरप्रमुख खड्काले सोही अनुरुप बजेटको व्यवस्था गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस