दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–११ सुकौरास्थित ऐतिहासिक दंगीशरण दरबार पुनःनिर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । लुम्बिनी प्रदेश सरकार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गतको पर्यटन डिभिजन कार्यालय, कोहलपुरले दरबार संरक्षण, जीर्णोद्धार तथा निर्माणका लागि चार करोड ९० लाख रुपियाँको बोलपत्र आह्वान गरेसँगै यस क्षेत्रको ऐतिहासिक सम्पदा संरक्षणप्रति नयाँ आशा जागेको हो ।
लामो समयदेखि अलपत्र अवस्थामा रहेको दरबारको संरक्षणका लागि प्रदेश सरकारले निर्माण प्रक्रिया अघि बढाएपछि थारू समुदाय, इतिहासविद् तथा सांस्कृतिक अभियन्ताले स्वागत गरेका छन् ।
उनीहरूले यसलाई एउटा भवन निर्माणको काम मात्रै नभई थारू सभ्यता, दाङको इतिहास र राष्ट्रिय पुरातात्त्िवक सम्पदाको संरक्षणसँग जोडिएको महत्वपूर्ण सुरुआतका रूपमा लिएका छन् ।
थारू अगुवा तथा महेन्द्र बहुमुखी क्याम्पस दाङका सहप्राध्यापक कुलवीर चौधरीले दंगीशरण थारू राजाको ऐतिहासिक दरबारको उत्खनन, संरक्षण र विकासको माग थारू समुदायले वर्षौंदेखि उठाउँदै आएको स्मरण गराउनुभयो । उहाँका अनुसार यस अभियानमा थारू समुदाय, सामाजिक अभियन्ता र विभिन्न व्यक्तित्वले निरन्तर योगदान गर्दै आएका छन् ।
प्रदेश सरकारले बजेट व्यवस्थापन गरी ठेक्का प्रक्रिया अघि बढाउनु सकारात्मक उपलब्धि भए पनि निर्माण कार्य ऐतिहासिक तथ्य, पुरातात्त्िवक मापदण्ड र मौलिक स्वरूपलाई आधार बनाएर अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।
यस्तै थारू बुद्धिजीवी तथा थारू कल्याणकारिणी सभा दाङका निवर्तमान अध्यक्ष भुवन चौधरीले दंगीशरण दरबार केवल एउटा ऐतिहासिक संरचना नभई दाङको इतिहास, थारू सभ्यता, सांस्कृतिक पहिचान र पुरातात्विक सम्पदाको जीवित प्रमाण भएको बताउनुभयो ।
उहाँले दरबारको संरक्षणलाई केवल भवन निर्माणमा सीमित नगरी संग्रहालय, अनुसन्धान केन्द्र, सांस्कृतिक पार्क, पर्यटन पूर्वाधार, स्थानीय उद्यम तथा डिजिटल प्रवर्धननसँग जोडेर एकीकृत रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीले राष्ट्रिय पुरातत्व विभागले तीन चरणमा गरेको उत्खननका क्रममा दरबारमा प्रयोग भएका इँटा पाँचौँ र छैटौँ शताब्दीका रहेको तथ्य फेला परेको बताउनुभयो ।
दंगीशरण दरबारको संरक्षण र विकासका लागि थारू समुदाय, स्थानीयवासी तथा विभिन्न संघसंस्थाले लामो समयदेखि सरकारसँग माग गर्दै आएका थिए । पुरातत्त्व विभागले विभिन्न चरणमा उत्खनन गरेपछि यसको ऐतिहासिक महत्व अझ स्पष्ट भएको थियो ।
त्यसयता दरबारको संरक्षण र व्यवस्थित विकासको माग निरन्तर उठ्दै आएको छ । ढिलै भएपनि दरबारको पुनः निर्माणको लागि प्रयिक्रया अगाडि बढेको छ । यसले जिल्लाको मात्र नभई देशकै महत्वपूर्ण सांस्कृतिक तथा ऐतिहासिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार गर्नेछ ।



















