२०८३ साउन ५ गते मङ्गलवार

दाङमा काठबाट दस करोड बढि आम्दानी


दाङ । दाङमा एक वर्षको अवधिमा वनपैदावारबाट १० करोड बढी आम्दानी भएको छ । डिभिजन वन कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वनपैदवार सङ्कलनबाट १० करोड ६१ लाख १३ हजार २२४ रुपैयाँको काठ र दाउरा उत्पादन भएको हो ।

डिभिजन वन कार्यालय घोराहीका प्राविधिक अधिकृत दिनेश डाँगीका अनुसार वन संवर्धन प्रणाली लागु भएका ४८ वटा सामुदायिक वनबाट एक लाख ९० हजार ७४७.२१ क्युफिट काठ र ४७२.४७ ४८ चट्टा दाउरा उत्पादन भएको छ ।

वनपैदावार सङ्कलनका लागि सहमति लिएका ९८ वटा वन समूहमध्ये ५० वन समूहबाट उत्पादन भएको काठ र दाउराबाट १० करोड ६१ लाख १३ हजार २२४ रुपियाँ आम्दानी गरेका छन्‌ । प्राविधिक अधिकृत डाँगीका अनुसार काठ उत्पादनबाट नौ करोड ८७ लाख ३३ हजार ९१२ रुपियाँ र दाउराबाट ७३ लाख ७९ हजार ३१२ रुपियाँ आम्दानी भएको छ ।

काठ उत्पादनबाट भएको आम्दानीमध्ये दुई करोड ६० लाख ६६ हजार २४८ रुपियाँ प्रदेश सञ्चित कोषमा जम्मा भएको र बाँकी रकम वन समूहको खातामा जम्मा भएको बताउनुभयो । काठ उत्पादनबाट भएको आम्दानीको २५ प्रतिशत प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

बाँकी रकम वन समूहको खातामा हुने र उक्त रकम वन संरक्षणसँगै सामाजिक कार्यमा लगाउने गरेका छन्‌ । प्रदेश सञ्चित कोषमा काठ उत्पादनबाट भएको आम्दानीको दुई करोड ४३ लाख ६० हजार ९३० र दाउराबाट भएको आम्दानीमध्ये १७ लाख पाँच हजार ३१९ रुपियाँ रहेको छ ।

वन संवर्धन प्रणाली अन्तर्गत सङ्कलन भएको काठमध्ये एक लाख ३४ हजार ६२.६३ क्युफिट र दाउरा ४६९.७४ चट्टा वन समूहभन्दा बाहिर बिक्री भएको छ । अन्य काठ भने उपभोक्ता समूहका सदस्यले नै खरिद गरेका छन्‌ ।

डिभिजन वन कार्यालय घोराहीका प्राविधिक अधिकृत डाँगीका अनुसार आव २०८२/८३ मा निजी वनबाट ५१ हजार ३९०.७२ क्युफिट काठ र १५५.५२ चट्टा दाउरा काठ सङ्कलन भएको छ । दाङमा डिभिजन वन कार्यालय घोराही अन्तर्गत ३९२ वटा सामुदायिक वन र २४८ वटा निजी वन रहेका छन्‌ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस