दाङ । दाङमा अझै १५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । अहिलेसम्म जिल्लामा २८ हजार ३८५ हेक्टर क्षेत्रफल अर्थात् करिब ८५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार देउखुरी क्षेत्रका अधिकांश स्थानमा धान रोपाइँ सकिएको छ । तर दाङ उपत्यका तथा वर्षाको भरमा खेती हुने केही क्षेत्रमा अझै रोपाइँ जारी छ । घोराहीको नारायणपुर, तुलसीपुर उपमहानगरपालिकाको दक्षिणी क्षेत्र, दंगीशरण, शान्तिनगर, बबई र बंगलाचुली गाउँपालिकाका वर्षामा निर्भर किसानले अझै रोपाइँ गरिरहेको उहाँले बताउनुभयो ।
पछिल्ला केही दिनदेखि वर्षा हुन थालेपछि किसानले रोपाइँलाई तीव्रता दिएका छन् । उहाँका अनुसार मौसम अनुकूल रहेमा आगामी साउन १० गतेसम्म जिल्लाभर धान रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष दाङमा ३४ हजार ४२३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ ।
त्यसमध्ये ३३ हजार ३९० हेक्टर अर्थात् करिब ९५ प्रतिशत क्षेत्रफलमा धान खेती हुने प्रक्षेपण गरिएको प्रमुख भण्डारीले बताउनुभयो । समयमै रोपाइँ सम्पन्न भए यस वर्ष धान उत्पादन पनि बढ्न सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।



















