२०८३ साउन ६ गते बुधवार

६८ विद्यार्थीका कथा समेटिएको ‘लक्ष्यका कथाहरू’ विमोचन

दाङ । तुलसीपुर–६ स्थित लक्ष्य एकेडेमीले विद्यार्थीद्वारा लिखित कथा संग्रह ‘लक्ष्यका कथाहरू’ को विमोचन गरेको छ । विद्यालयमा अध्ययनरत ६८ जना विद्यार्थीहरूले रचना गरेका कथाहरू समेटेर तयार पारिएको उक्त पुस्तकको बुधबार एक समारोहबीच विमोचन गरिएको हो ।

प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय बालबालिकामा घट्दै गएको पठन र लेखन संस्कृतिलाई उजागर गर्न कथा संग्रह प्रकाशनको शुभारम्भ गरिएको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र खड्काले बताउनुभयो । उहाँले आगामी अंकमा अंग्रेजी र नेपाली दुवै भाषामा कथा संग्रह प्रकाशित गरिने बताउनुभयो ।

विद्यालयका प्रिन्सिपल खड्काको अध्यक्षता एवं नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता एवं दाङ जिल्ला अध्यक्ष भोजराज न्यौपानेको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले पछिल्लो समय हराउँदै गएको पठन र लेखन संस्कृतिलाई जोगाउन विद्यालयले विद्यार्थीलाई सिर्जनात्मक लेखनमा जोडेर महत्त्वपूर्ण कदम चालेको बताउनुभयो । स्कुले जीवनदेखि नै बालबालिकालाई कथा लेखनमा प्रेरित गर्दा उनीहरूमा अध्ययन गर्ने बानीको विकास हुने उहाँले बताउनुभयो ।

त्यस्तै, विशिष्ट अतिथि नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले साहित्य र सिर्जनात्मक लेखनका माध्यमबाट बालबालिकाको बौद्धिक विकास हुने र यसले देशका लागि योग्य तथा अब्बल जनशक्ति तयार पार्न मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो ।

कथाकार विजयराज आचार्य र पुस्तकका समीक्षक साहित्यकार बसन्त आचार्यले बालबालिकालाई सिर्जनात्मक बनाउन र उनीहरूभित्र लुकेको प्रतिभा प्रस्फुटन गराउन कथा लेखन सबैभन्दा सशक्त माध्यम भएको बताउनुभयो । नेशनल प्याब्सन दाङका सचिव हरिप्रसाद भण्डारीले कथा लेखनले बालबालिकामा पठन र लेखन संस्कृतिको विकासमा प्रमुख भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा त्रिदेव इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल मनोज हमाल, अभिभावक तेजबिक्रम खान ठकुरी र पत्रकार दीपक बोहराले यस्ता रचनात्मक अभ्यासले बालबालिकामा अध्ययनप्रतिको रुचि बढाउने उल्लेख गर्नुभयो ।

त्यस अवसरमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरू बिन्दु खान ठकुरी, अनु विष्ट, अन्जु वली, मालिका पुन र रमेश पुनले कथा लेख्दाको आफ्ना अनुभव र अनुभूति साझा गरेका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक सम्झना खड्का केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार आशिष केसीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस