दाङ । गत वर्ष जेन्जी आन्दोलनका क्रममा आगजनीबाट सभाहल पूर्ण रूपमा जलेर नष्ट भएपछि सार्वजनिक कार्यक्रम, नगरसभा तथा विभिन्न प्रशासनिक गतिविधि सञ्चालन गर्न उपयुक्त स्थानको अभाव झेल्दै आएको तुलसीपुर उपमहानगरपालिकाले अब आफ्नै नयाँ बहुउद्देश्यीय सभाहल पाएको छ ।
संघीय सरकारको १ करोड ५१ लाख ५६ हजार ७२ रुपैयाँ ९९ पैसा (भ्याटसहित) लागतमा निर्माण सम्पन्न भएको बहुउद्देश्यीय सभाहलको आज (शुक्रबार) औपचारिक रूपमा तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, घोराहीले आर्थिक वर्ष २०८१/०८२ मा ठेक्का प्रक्रिया अघि बढाएको आयोजना आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न भएको हो ।

तुलसीपुर–६, इन्द्रनगरमा निर्माण भएको सभाहलको जिम्मा पाएको केके एण्ड सी इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि, दाङले २०८२ जेठ २३ गते सम्झौता गरी काम सुरु गरेको थियो । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कम्पनीले २०८३ जेठ १८ गते नै निर्माण कार्य सम्पन्न गर्दै तोकिएको समयभन्दा केही दिनअघि आयोजना पूरा गरेको हो ।
सभाहल नहुँदा नगरसभा, सार्वजनिक सुनुवाइ, तालिम तथा अन्य कार्यक्रम सञ्चालन गर्न पालिकाले शिक्षा तथा स्वास्थ्य संस्थाका सभाहल प्रयोग गर्नु परेको थियो । हिउँदे अधिवेशन अश्वारास्थित मेट्रो अस्पतालको सभाहलमा तथा वर्षे अधिवेशन हरीपौरास्थित मेट्रो कलेजको सभाहलमा सञ्चालन गरिएको थियो । यसले स्थानीय सरकारलाई अतिरिक्त आर्थिक भारसँगै व्यवस्थापनमा समेत कठिनाइ भएको थियो ।
नगर प्रमुख टिकाराम खड्काले अब त्यो समस्या अन्त्य भएको बताउँदै नयाँ सभाहल सञ्चालनका लागि छिट्टै कार्यविधि बनाएर नियमित प्रयोगमा ल्याइने जानकारी दिनुभयो । सभाहल निर्माण भएको स्थानको स्वामित्व र उपयोगको विषय पनि लामो समयदेखि चर्चामा रहेको थियो ।
नगर प्रमुख खड्काका अनुसार सभाहल भएको जग्गा शोभा भगवती मन्दिरको नाममा रहेको थियो । उहाँका अनुसार मन्दिर समितिको नाममा करिब साढे तीन विगाहा जग्गा विभिन्न खण्डमा रहेको छ । भवन निर्माणअघि उक्त स्थानलाई मन्दिरले यातायात व्यवस्था कार्यालयलाई ट्रायल सेन्टरका रूपमा भाडामा दिएको थियो ।
पछि पालिकाले जग्गा संरक्षण गर्ने र अतिक्रमण रोक्ने विषयमा उच्च सरकारी वकिलको कार्यालयको समन्वयमा सहमति भएपछि तुलसीपुर उपमहानगरपालिकाले उक्त जग्गाको भोगाधिकार उच्च सरकारी वकिलको केन्द्रीय कार्यालयबाट प्राप्त गरेको हो ।
नगर प्रमुख खड्काले तत्कालीन राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माको पहल र स्थानीय तहको समन्वयबाट यो योजना सफल भएको उल्लेख गर्दै दाङमा घोराहीपछि नेपाल सरकारको स्वामित्वमा निर्माण भएको दोस्रो आधुनिक सभाहल तुलसीपुरमा बनेको बताउनुभयो ।
संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, घोराहीका निमित्त कार्यालय प्रमुख गणेश कुमार पौडेलको अध्यक्षता तथा नगर प्रमुख खड्काको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा भवन हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण सम्झौताअनुसार निर्माण कम्पनीले एक वर्षसम्म डिफेक्ट लाइबिलिटी अवधि कायम राख्नुपन छ । यस अवधिमा देखिने निर्माणसम्बन्धी कुनै पनि कमजोरी आफ्नै खर्चमा सुधार गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसपछि भवनको नियमित मर्मत–सम्भार, संरक्षण तथा सञ्चालनको जिम्मेवारी तुलसीपुर उपमहानगरपालिकाले वहन गर्ने छ ।
कार्यक्रममा उपमेयर स्यानी चौधरी, नगर प्रवक्ता तथा वडा नम्बर १८ का अध्यक्ष माधव वली, वडा नम्बर ३ का अध्यक्ष वीरबहादुर विक, प्रमुख प्रशासकीय अधिकृत टेकनारायण पौडेललगायतले नयाँ सभाहलले स्थानीय सरकारका औपचारिक कार्यक्रम, नगरसभा, तालिम, गोष्ठी, सांस्कृतिक कार्यक्रम तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज हुने बताएका हुन ।
सभाहल निर्माण सम्पन्न भएसँगै यसको सञ्चालन मोडालिटी, भाडादर, व्यवस्थापन समिति तथा सार्वजनिक उपयोगको मापदण्ड कस्तो हुने भन्ने विषयमा स्थानीय तहमा चासो बढेको छ । नगर प्रमुख खड्काले कार्यविधि तयार गरी पारदर्शी ढंगले सञ्चालन गरिने बताउनुभयो ।
उहाँका अनुसार सभाहललाई स्थानीय समुदाय, संघसंस्था तथा निजी क्षेत्रले समान रूपमा न्यूनतम शुल्कमा प्रयोग गर्न पाउने व्यवस्था मिलाइने छ । भवन हस्तान्तरण कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख रमा खड्काले गर्नुभएको हो ।



















