दाङ । तुलसीपुर उपमहानगरपालिकाले बितेको आर्थिक वर्षमा ४१ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । उपमहानगरपालिकाले बितेको आर्थिक वर्ष २०८२/२०८३ मा ४१ करोड ७६ लाख ९० हजार ७० रुपैँया राजश्व संकलन गरेको हो । तर यो रकम कुल लक्ष्य भन्दा कम हो ।
उपमहानगरपालिकाले बितेको आर्थिक वर्षमा ७२ करोड १५ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर लक्ष्यको ५७ दशमलव ८९ प्रतिशत राजश्व संकलन भएको हो ।
गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम संकलन भएपनि अघिल्लो आर्थिक वर्ष २०८१/२०८२ भन्दा बढी राजश्व संकलन भएको राजश्व शाखा प्रमुख कर्ण बहादुर हमालले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा उपमहानगरपालिकाले ३६ करोड ७१ लाख राजश्व संकलन गरेकोमा गत आर्थिक वर्षमा ५ करोड बढी संकलन भएको हो ।
उपमहानगरपालिकाले बितेको आर्थिक वर्षमा फिल्डमै गएर व्यवसाय कर, घरबहाल कर गरेकोले पनि अघिल्लो आर्थिक वर्षभन्दा बढी राजश्व संकलन गर्न सफल भएको प्रमुख हमालले बताउनुभयो । उहाँले पछिल्लो समय नागरिकमा पनि कर राज्यलाई बुझाउनुपर्छ भन्ने सचेतना पुग्न थालेको बताउनुभयो ।
गत वर्ष जेनजी आन्दोलनमा उपमहानगरपालिकाको भवनमा क्षति पुग्दा अझ अपेक्षितरुपमा राजश्व उठाउन नसकिएको प्रमुख हमालले बताउनुभयो । आन्दोलनबाट भवनमा क्षति पुगेपछि करिब २ महिना कार्य सम्पादनमा समस्या भएकाले अपेक्षित राजश्व संकलन गर्न नसकिएको उहाँले बताउनुभयो ।
गत आर्थिक वर्षमा आन्तरिकतर्फ २३ करोड ३२ लाख ३ हजार ९ सय, नदिजन्य पदार्थ ठेक्काबाट १ करोड ५२ लाख ९६ हजार १३२ र मालपोत रजिष्ट्रेशनतर्फ १६ करोड ९१ लाख ९० हजार ६७४ राजश्व संकलन भएको छ ।
उपमहानगरपालिकाले बितेको आर्थिक वर्षमा मालपोत रजिष्ट्रेशनमा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । नगरले बितेको आर्थिक वर्षमा मालपोत रजिष्ट्रेशनबाट १५ करोड संकलन गर्ने लक्ष्य लिएकोमा १६ करोड भन्दा बढी संकलन गरेको हो ।
नगरले सरसफाई शुल्क, पर्यटन शुल्क, नक्सा पास, व्यवसाय कर, घर बहाल कर,सम्पति कर लगायतबाट राजश्व संकलन गरिरहेको छ । उपमहानगरपालिकाले अघिल्लो वर्षको तुलनामा करिब ५ करोड रुपैयाँ बढी राजश्व उठाउन सफल भएपनि महत्वाकांक्षी लक्ष्य र व्यावहारिक पाटोकोबीच भने ठूलो अन्तर देखिएको आर्थिक क्षेत्रका जानकारहरु बताउँछन् ।

























