२०८३ साउन १७ गते आइतवार

दाङमा एन्टीस्नेक भेनम अभाव, सर्पदंशका बिरामीको उपचार प्रभावित


दाङ ।
दाङमा एन्टीस्नेक भेनम अभाव भएपछि सर्पदंशका बिरामीको उपचार प्रभावित भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, लमही अस्पताल, गढवास्थित सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको छ भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भेनमको मौज्दात सकिन लागेपछि उपचारमा समस्या देखिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा हाल दुई जना सर्पदंशका बिरामी उपचाररत छन् । तर, आवश्यक एन्टी स्नेक भेनम अभाव हुँदा उपचारमा कठिनाइ भएको छ ।

प्रतिष्ठानमा रहेको भेनम सकिएकाले राप्ती प्रादेशिक अस्पतालसँग सहयोगका लागि माग गरिएको उहाले बताउनुभयो । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले गढवास्थित सर्पदंश उपचार केन्द्रमा भेनम पूर्ण रूपमा सकिएको बताउनुभयो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पनि भेनमको मौज्दात अत्यन्त न्यून छ । अस्पताल स्रोतका अनुसार अहिले रहेको भेनमबाट बढीमा एक वा दुई जना बिरामीको मात्रै उपचार गर्न सकिने अवस्था छ । प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिमाणमा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ ।

वर्षायामसँगै सर्पदंशका घटना बढ्न थालेका बेला एन्टीस्नेक भेनम अभाव भएपछि स्वास्थ्यकर्मी र बिरामी दुवै चिन्तित बनेका छन् । स्वास्थ्य संस्थाले तत्काल पर्याप्त परिमाणमा भेनम उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस