दाङ । दाङको तुलसीपुर–७, झुमरेस्थित हाम्रो पहुँच सेकेन्डरी स्कुलमा अध्ययनरत कक्षा ११ का विद्यार्थीलाई आइतबार स्वागत तथा अभिमुखीकरण गरिएको छ । कार्यक्रम घोराहीस्थित भिंग्रेली भिलेजमा आयोजना गरिएको हो ।
कक्षा १२ का विद्यार्थी जितेश चौधरीको अध्यक्षता तथा प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यता एवं हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले दक्ष जनशक्ति उत्पादनमा हाम्रो पहुँच सेकेन्डरी स्कुलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय र राज्यको संयुक्त प्रयासबाट मात्रै गुणस्तरीय शैक्षिक उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्दै शैक्षिक गन्तव्यका रूपमा हाम्रो पहुँच छनोट गर्नु विद्यार्थीको सही निर्णय भएको बताउनुभयो ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले सहकारी क्षेत्रमा दक्ष जनशक्तिको माग बढ्दै गएको उल्लेख गर्दै विद्यालयमा सहकारी विषय अध्यापन गराउने योजना रहेको जानकारी दिनुभयो । उहाँले विद्यार्थीलाई सहकारीको विषय पनि अध्ययन गर्न पाउने गरी विद्यालयले आवश्यक तयारी गरिरहेको बताउनुभयो ।
यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन विद्यालयको प्रमुख लक्ष्य रहेको बताउँदै व्यवस्थापन क्षेत्रका अवसर र सम्भावनाबारे जानकारी गराउनुभयो ।
विद्यालयका प्रधानाध्यापक शिव पुनले विद्यार्थीको रुचि र आवश्यकताअनुसार गुणस्तरीय अध्यापनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले विद्यार्थीलाई मेहनती, अनुशासित र जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण पोखरेल, लेखा सुपरिवेक्षण समितिका संयोजक शरद शर्मा, शिक्षकहरू चमन धिताल, अर्जुन बस्नेत, लक्ष्मी घिमिरे र कमल पन्थी तथा कक्षा ११ का विद्यार्थी दामोदर आचार्यले हाम्रो पहुँच सेकेन्डरी स्कुल उत्कृष्ट शैक्षिक गन्तव्य भएको धारणा व्यक्त गर्नुभयो ।
कक्षा १२ की विद्यार्थी अनिता परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मान्सी भण्डारी र सुस्मिता चौधरीले गर्नुभएको हो ।















