२०८३ साउन १९ गते मङ्गलवार

बजारमा खाना पकाउने ग्यासको अभाव अझै उस्तै


दाङ। बजारमा खाना पकाउने ग्यासको अभाव अझै उस्तै छ । तर नेपाल आयल निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मौज्दात रहेको दाबी गरेको छ ।

निगमले आपूर्तिमा समस्या नरहेको जनाएको भए पनि डिपो सञ्चालकहरूले उद्योगबाट ग्यास नै नआएको बताएका छन् । सरकारले भरी सिलिन्डर बजार पठाउन थालेको दुई हप्ता नबित्दै दाङ उपत्यकालगायत देशका विभिन्न ठाउँमा अभाव हुन थालेको हो । बजारमा ग्यास नपाएपछि धेरै उपभोक्ताले डिलर र सप्लायरकहाँ पुगेर खाली सिलिन्डर लाइनमा राख्न थालेका छन् ।

एउटा ग्यास साट्न मात्रै पनि हप्तौँसम्म कुर्नुपरेको उपभोक्ताको गुनासो छ । कतिपय उपभोक्ता भने ग्यास सिलिन्डर बोकेर दिनभर लाइनमा बस्ने गरेका छन् । दिनभर लाइनमा बस्दा पनि ग्यास नपाएको भन्दै उपभोक्ताले सरकारको आलोचना गरिरहेका छन् । तुलसीपुरस्थित ग्यास डिलर डायनामिक ट्रेड कन्सर्न लगायत विक्रेताहरूको पसलमा ग्यास लिन बसेका सेवाग्राहीको लामो लाइन यथावत् छ ।

यसैबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायी फर्मलाई आवश्यक कारबाही गर्न निर्देशन दिएको छ ।

केही दिनयता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको धेरै गुनासो आएकाले विभागले ग्यासमा केन्द्रित भएर बजार अनुगमन गरेको जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस