२०८३ साउन १९ गते मङ्गलवार

बहुक्षेत्रीय पोषण कार्यक्रमको रकम वितरणबारे विवादपछि छानबिन समिति गठन


रोल्पा ।
माडी गाउँपालिका–१ नम्बर वडामा सञ्चालित बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत वितरण भएको रकमको विषयलाई लिएर विवाद उत्पन्न भएपछि छलफलसहित सात सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

माडी गाउँपालिका सामाजिक विकास समिति संयोजक एवम् वडा नम्बर २ का अध्यक्ष ललित घर्तीमगरको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

समितिको सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजकुमार विक, नेपाली कांग्रेसबाट गोपाल घर्ती, नेकपा एमालेबाट देवप्रसाद डाँगी, नेपाली कम्युनिष्ट पार्टीबाट भरतबहादुर बुढामगर र नेकपा माओवादीबाट देवबहादुर वली (दिनेश सी) रहनुभएको छ ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जयप्रकाश बुढालाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ । समितिले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत रकम वितरणका क्रममा के भएको हो भन्ने विषयमा छानबिन गरी एक महिनाभित्र स्पष्ट प्रतिवेदन गाउँपालिकामा पेश गर्नुपर्ने गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीमगरले जानकारी दिनुभयो ।

बैठक गाउँपालिका उपाध्यक्ष जयपुरी घर्तीमगर, वडा नम्बर १ का अध्यक्ष रोहितसिंह घर्तीमगर, इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक गोपाल श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवं सरोकारवालाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीमगरले गर्नुभएको थियो । कार्यक्रमको सामुदायिक रेडियो माडी आवाज ९८.६ मेगाहर्जले प्रत्यक्ष प्रसारण गरेको थियो ।

छानबिन समितिले तोकिएको समयभित्र अध्ययन गरी प्रतिवेदन पेश गरेपछि बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत रकम वितरणका विषयमा उठेको विवादको वास्तविकता स्पष्ट हुने अपेक्षा गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस