दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा सञ्चालित पुष्पन हेल्थकेयर प्रालिले अन्तर्राष्ट्रिय स्तरको क्ष्क्इ ९००१ : २०१५ प्रमाण प्राप्त गरेको छ । ग्लोबस सर्टिफिकेसन्सद्वारा गरिएको स्वतन्त्र मूल्याङ्कन पश्चात् पुष्पन हेल्थकेयरलाई यो अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको हो ।
हेल्थकेयरले प्रवाह गर्दै आएका आधुनिक भिडियो एक्स–रे, स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा, ओपिडी सेवा, साधारण चिकित्सा परामर्श, मातृ स्वास्थ्य परामर्श, निरोधात्मक स्वास्थ्य जाँच तथा बिरामी हेरचाह सहयोग सेवाहरूको गुणस्तरलाई प्रमाणीकरण भएपछि प्रमाणपत्र प्राप्त गरेको हो ।
ISO ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेसँगै पुष्पन हेल्थकेयरको कार्यप्रणाली र निदान सेवा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवस्थित रहेको पुष्टि भएको डा. पुष्पराज रिजालले बताउनुभयो ।

उहाँका अनुसार यस प्रमाणपत्रले प्रयोगशाला तथा भिडियो एक्स–रे लगायतका स्वास्थ्य परीक्षणहरूलाई थप भरपर्दो र पारदर्शी बनाउँदै बिरामीको विश्वास बढाउन ठूलो सहयोग पुर्याउनेछ ।
मापदण्डले संस्थाको समग्र व्यवस्थापन र सेवा प्रवाहमा निरन्तर परिमार्जन एवं सुधार ल्याउन प्रोत्साहन गर्ने डा. रिजालले बताउनुभयो । यो मान्यतासँगै दाङ तथा आसपासका नागरिकले अब स्थानीयस्तरमै अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय स्वास्थ्य परामर्श र परीक्षण सेवा प्राप्त गर्ने सुनिश्चितता मिलेको छ ।
प्रमाणपत्र सन् २०२६ अगस्ट ४ देखि सन् २०२९ अगस्ट ३ सम्म तीन वर्षका लागि मान्य रहनेछ । यस प्रमाणपत्रले आफूहरूलाई नागरिकको स्वास्थ्य सुरक्षाप्रति थप जिम्मेवार बनाएको र आगामी दिनमा अझ उच्चस्तरीय सेवा प्रदान गर्न प्रेरित गरेको डा. रिजालले बताउनुभयो ।






















