दाङ ।
रसुवा बाढीपछि सम्पर्कविहीन बनेका आफ्ना आफन्तको खोजी तथा उद्धारका लागि तुलसीपुर उपमहानगरपालिकाबाट नगर प्रवक्ता माधव ओलीको नेतृत्वमा जनप्रतिनिधिसहित आफन्तहरू रसुवा प्रस्थान गरेका छन् । बाढी गएको २४ घण्टा बितिसक्दा पनि आफन्तहरू सम्पर्कमा नआएपछि उनीहरूका परिवारलाई साथमा लिएर नगर प्रवक्ता ओलीसहित तुलसीपुर-१३ का अध्यक्ष मोहन पौडेल र वडा नम्बर १९ का सदस्य राम बहादुर पौडेलकोको टोली घटनास्थलतर्फ हिँडेको हो।
रसुवा तथा नुवाकोटमा बुधबार गएको भीषण बाढी तथा पहिरोका कारण दाङबाट कामको सिलसिलामा गएका २२ जना सम्पर्कविहीन भएका थिए । जिल्ला प्रशासन कार्यालय दाङको पछिल्लो जानकारीअनुसार तीन जना सम्पर्कमा आएका छन् । रोल्पा घर भई तुलसीपुर-६ बस्ने ध्रुवबहादुर बुढामगर, राजपुर गाउँपालिका-१, कठबेरवा निवासी गोपाल चौधरी र बुद्धिराम चौधरीसहित तीन जना सम्पर्कमा आएका हुन् । प्रशासनका अनुसार दाङका अझै १९ जना सम्पर्कविहीन रहेका छन् ।
प्रशासनले सार्वजनिक गरेको विवरणअनुसार स्यार्पुबेसी स्वास्थ्य चौकी, रसुवामा कार्यरत तुलसीपुर निवासी कोपिला केसी र खम्बु बोहोरा सम्पर्कविहीन रहनुभएको छ ।
यस्तै, मैलुङ हाइड्रो पावर, रसुवामा कार्यरत तुलसीपुर निवासी शिवशङ्कर जोशी, टिमुरे हाइड्रो पावर, रसुवामा कार्यरत सल्यान घर भई हाल तुलसीपुर–९ बस्ने प्रमिला बुढाथोकी तथा फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोटमा कार्यरत तुलसीपुर निवासी शोभाराम योगी पनि सम्पर्कविहीन रहनुभएको छ ।
यस्तै, फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोटमा कार्यरत तुलसीपुर-१३ दमारगाउँ निवासी गोपीलाल रोका, लालबहादुर रोका र नारायण अधिकारी पनि सम्पर्कविहीन रहनुभएको छ । गोपीलाल र लालबहादुर बाबुछोरा हुनुहुन्छ ।
यस्तै, तुलसीपुर–१९ दोघरे निवासी ४६ वर्षीय पूर्णबहादुर बस्नेत, प्युठान घर भई घोराही-१५ भरतपुर बस्ने सूर्यबहादुर केसी, तुलसीपुर-१८ दुधरास निवासी गोपाल परियार, विकास परियार, सुदन गिरी तथा तुलसीपुर निवासी सीमा चौधरी पनि सम्पर्कविहीन हुनुभएको छ ।
यस्तै, तुलसीपुर-१२ निवासी बजारु चौधरी, तिलक चौधरी, रामकुमार चौधरी, दङ्गीशरण-६ निवासी प्रेम विक र रोल्पा घर भई दाङ बस्ने तथा त्रिशूली हाइड्रोपावर, रसुवामा कार्यरत राजेन्द्र महत पनि सम्पर्कविहीन हुनुभएको छ ।






















