दाङ । रसुवा तथा नुवाकोटमा आएको बाढीमा सम्पर्कविहीन बनेका दाङका थप दुई जना सम्पर्कमा आएका छन् ।
तुलसीपुर उपमहानगरपालिका-१२ का अध्यक्ष खुसीराम चौधरीका अनुसार तुलसीपुर-१२ निवासी तिलक चौधरी र रामकुमार चौधरी परिवारको सम्पर्कमा आएका छन् ।
उनीहरू दुवै जना बुधबार बिहान कामको सिलसिलामा मोटरसाइकलमा कार्यस्थलतर्फ जाँदै गर्दा एक्कासि आएको भेल देखेपछि मोटरसाइकल छोडेर सुरक्षित स्थानतर्फ भागेर बच्न सफल भएको जानकारी गराएकोको पारिवारिक स्रोतले जनाएको छ । उनीहरू सँगसँगै सानो गाडीमा चढेर काममा जाँदै गरेका सोही ठाउँका सीमा चौधरी र बजारू चौधरीको अवस्था भने अहिलेसम्म अज्ञात रहेको छ।
यसअघि रोल्पा घर भई तुलसीपुर-६ बस्ने ध्रुवबहादुर बुढामगर, राजपुर गाउँपालिका-१, कठबेरवा निवासी गोपाल चौधरी र बुद्धिराम चौधरी सम्पर्कमा आएका थिए । योसँगै परिवारको सम्पर्कमा आउनेको संख्या पाँच पुगेको छ । प्रशासनका अनुसार दाङका अझै १७ जना सम्पर्कविहीन रहेका छन् ।






















