तुलसीपुर । रसुवा बाढीपछि सम्पर्कविहीन बनेका दाङको तुलसीपुरका नागरिकको खोजी तथा उद्धारका लागि चितवनमा रहेको टोलीले शुक्रबार साँझसम्म पनि शव पहिचान केन्द्रमा तुलसीपुर क्षेत्रका कसैको पुष्टि हुन नसकेको जनाएको छ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता माधव ओलीको नेतृत्वमा आफन्तसहितको टोली हिजो चितवनको नारायणगढ पुगेको थियो। उहाँका अनुसार नारायणगढमा रहेको शव पहिचान केन्द्रमा आज बिहान ७ बजेदेखि नै टोलि सम्पर्कविहीन नागरिकको पहिचानका लागि पुगेको थियो।
शुक्रबार दिनभर एक सय २५ शवमा दाङका कसैको पुष्टि नभएको जानकारी दिनुभयो। आफन्तलाई फोटोसहित आज (शुक्रबार) बिहान ७ बजे शव पहिचान केन्द्रमा बोलाइएको थियो।
केन्द्रमा अझै ८० भन्दा बढी शव रहेका छन्। बाँकी शव पहिचानका लागि भोलि बिहान फेरि केन्द्रमा जाने बताउनुभयो।
यस्तै, केन्द्रमा रहेका शवको पहिचानबाट आवश्यक जानकारी लिएपछि नगर प्रवक्ता ओली, तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष मोहन पौडेल, तुलसीपुर–१९ का वडा सदस्य रामबहादुर पौडेलसहित सम्पर्कविहीन नागरिकका आफन्तहरूको टोली रसुवातर्फ प्रस्थान गर्ने तयारीमा रहेको ओलीले जानकारी दिनुभयो।






















