२०८३ भाद्र १९ गते शुक्रवार

लहरेले गरे महेन्द्र माविलाई १५ हजार सहयोग, श्रीवास्तवले दिए रंगरोगनका लागि पेन्ट


दाङ । युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले तुलसीपुर उपमहानगरपालिका–१२ कपडादेवीस्थित महेन्द्र माध्यमिक विद्यालयलाई १५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्षसमेत रहनुभएका लहरेले आफू अध्यक्ष हुँदा विद्यालयलाई वार्षिक रूपमा शैक्षिक सामग्री खरिदका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोही प्रतिबद्धताअनुसार लहरेले सोमबार विद्यालयमै पुगेर एक कार्यक्रमबीच नगद १५ हजार रुपैयाँ प्रधानाध्यापक ज्ञानबहादुर केसीलाई हस्तान्तरण गर्नुभएको हो ।

यस्तै, विद्यालयका लेखापाल देवराज श्रीवास्तवले २२ हजार रुपैयाँ बराबरको कक्षाकोठा रंगरोगनका लागि आवश्यक पेन्ट उपलब्ध गराउनुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै लहरेले समाजसेवा गर्न कुनै पदमा रहिरहन आवश्यक नरहेको बताउनुभयो । मनदेखि सहयोग गर्ने भावना भए पदमा रहँदा वा पदबाट बाहिरिएपछि पनि विद्यालय तथा समाजका लागि सहयोग गर्न सकिने उहाँको भनाइ थियो ।

सहयोग रकम तथा सामग्री प्राप्त भएपछि प्रधानाध्यापक केसीले लहरे र श्रीवास्तवप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विद्यालयको समग्र विकासलाई ध्यानमा राख्दै आगामी दिनमा पनि सबै क्षेत्रका व्यक्तिलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस