२०८३ भाद्र २० गते शनिवार

रसुवाका बाढीपीडितलाई खानेपानी व्यवस्थापनमा महासंघको पहल

दाङ । बाढीपहिरोका कारण रसुवाका विभिन्न क्षेत्रमा खानेपानीको अभाव भएपछि राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघले खानेपानी व्यवस्थापनमा पहल थालेको छ ।

महासंघका अध्यक्ष खेमराज ओली तथा सल्लाहकारद्वय चोकप्रसाद धिताल र शंकर गौतमले व्यक्तिगत खर्चबाट करिब ७५ हजार रुपैयाँ बराबरका हिलट्यांकी उपलब्ध गराउनु भएको छ । ती ट्यांकी बाढीबाट प्रभावित ६ स्थानमा राखी स्थानीयलाई सामूहिक रूपमा खानेपानी उपलब्ध गराइएको महासंघले जनाएको छ ।

खानेपानी व्यवस्थापन तथा वितरणमा विद्धुर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष सञ्जीव श्रेष्ठको नेतृत्वमा रहेको टोली र कर्मचारीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको महासंघले जनाएको छ ।

यसैबीच, महासंघको आग्रहपछि लेखनाथ, टीकापुर, खलंगा–शीतलपाटी, कावासोती, प्रगतिनगर दाङ, सिरिचौर, बेनी, मुसिकोट–खलंगा र अँधेरीखोलालगायत खानेपानी उपभोक्ता संस्थाहरू पनि रसुवाका बाढीपीडितलाई सहयोग गर्न अघि सरेका छन् ।

महासंघले देशभरका खानेपानी उपभोक्ता संस्थाहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद सहयोग गर्न वा आवश्यकता अनुसार जिन्सी सामग्री उपलब्ध गराउन आग्रह गरेको छ । साथै, विपद्को समयमा सामाजिक सञ्जालमा सहानुभूति मात्र नभई व्यवहारमै सहयोग गर्नुपर्नेमा महासंघले जोड दिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस