२०८३ भाद्र २१ गते आइतवार

जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा आज पनि खोजी र उद्धार कार्य जारी


रसुवा । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा आज पनि खोजी र उद्धार कार्य निरन्तर छ । मुख्यगरी टनेलमा खोज तथा उद्धार भैरहेको नेपाली सेनाले जनाएको छ ।

रसुवागढी जलविद्युत्, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विज्ञसहितको टोलीले खोज तथा उद्धार गरिरहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हिजो रसुवागढी जलविद्युत् आयोजनामा विद्युत् गृहको छैठौँ तलामा पुगेर खोजी गरेको र त्यसक्रममा केही फेला नपरेको सेनाले जनाएको छ । त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि सेनाका ७५, सशस्त्र प्रहरीका १८ एवं नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली खोज तथा उद्धार तीव्र पारेको छ ।

त्रिशूली–३ ‘बी’मा सेना ८९, गैरसैनिक तीन र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले तीन वटा सानो डोजर र जेनेरेटरको प्रयोग गरी खोजी जारी राखेको छ । टोलीले अडिट–२ टनेलबाट ‘एक्साभेटर’ लैजान सक्नेगरी बाटो सफा गरेको छ ।

चिलिमे जलविद्युत् आयोजनामा विदेशीसहितको संयुक्त टोलीले ‘मिनि एक्साभेटर’ र पम्पको सहायताले लेदो फाली १०५ मिटर भित्रसम्म खोजी गरेको छ । त्यहाँ भित्र जाने गरी टोलीले काम गरिरहेको छ ।

माथिल्लो त्रिशूली–१ को हाकु सुरुङको २५० मिटरभित्रबाट विदेशीसहितको संयुक्त उद्धार टोलीले हिजो चिनियाँ नागरिक लु हाइताओको जीवितै उद्धार गरेको थियो । बाढीपछि सुरुङमा फसेका ३ जना र नुवाकोटको विदुरमा एउटा घरबाट एक महिला गरी दुई दिनमा चार जनाको जिवितै उद्धार भएको छ ।

–उज्यालोबाट

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस