दाङ । भोटेकोशीमा आएको विनाशकारी बाढीको पीडा आज तेह्रौँ दिनसम्म पनि उस्तै छ ।
बाढीले बगाएको पानी अहिले केही थामिएको होला, तर त्यसले बगाएर लगेको परिवारको खुसी, आफन्तको साथ र जीवनभरको सपना भने अझै फर्किएको छैन ।
गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी एक हजार तीन सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । सयौँ परिवार शोकमा छन्, केहि अझै आफन्तको खोजीमा छन् । घर–आँगन उजाडिएका छन्, बस्तीहरू सुनसान बनेका छन् ।
बाढीमा ज्यान गुमाएकाहरूको तेह्रौँ दिन पुगेको आज दाङसहित देशभर शोक मनाइएको छ । तुलसीपुर–७ झुमरेस्थित हाम्रो पहुँच सेकेन्डरी स्कुलमा पनि सोमबार साँझ दीप प्रज्वलन गरिएको छ ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले बाढीका कारण राष्ट्रले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले बाढी प्रभावित नागरिकका लागि संस्थाको तर्फबाट आर्थिक सहयोग गरिने बताउनुभयो । संस्थाले ५१ हजार, कार्यरत कर्मचारीले १ दिनको तलब र संचालक समितिले १ वटा बैठकको भत्ता सहयोग गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक शिव पुनले पनि विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्तो विपत्तिले सिंगो देशलाई नै शोकमा डुबाएको बताउनुभयो ।
दीप प्रज्वलन कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारी, रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल, बचत तथा ऋण विभागकी प्रमुख रेखा शर्मा लगायतको उपस्थिति थियो ।

























