दाङ। दाङको तुलसीपुर–७ झुमरेस्थित हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीले तुलसीपुर–३ रानागाउँस्थित भ्युडर डाँडाको अवलोकनसँगै सरसफाइ गरेका छन् ।

विद्यार्थीलाई वातावरणीय महत्वप बुझाउन विद्यालयले कक्षा ६ का विद्यार्थीलाई भ्युडर मन्दिर परिसरको सरसफाई गराएको हो । विद्यालयका शिक्षक हरि खनालको नेतृत्वमा गएका विद्यार्थीले भ्युडर डाँडामा पुगेर वातावरणीय अवलोकन गर्नुका साथै वरपरको सरसफाई गरेका हुन् ।
शिक्षक खनालका अनुसार सामाजिक, विज्ञान र स्थानीय पाठ्यक्रम तीन वटै विषयसंग सम्बन्धित विषयवस्तुको विद्यार्थीलाई बोध गराउनका लागि तुलसीपुर–३ रानागाउँको भ्युडर डाँडामा लगिएको हो ।

विद्यार्थीले कक्षाकोठामा मात्रै भन्दा सम्बन्धित ठाउँमै पुग्दा धेरै कुराको ज्ञान हासिल गरेको उहाँले बताउनुभयो । विद्यार्थीहरु पनि सम्बन्धित ठाउँमै पुगेर अध्ययन गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली बहादुर महताराले भ्युडर क्षेत्र पर्यटकियस्थल बन्दै गएपनि सरसफाई र संरक्षणमा चुनौति रहेको बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धनका लागि आवश्यक आधारभूत संरचनाहरु निर्माण हुने क्रममा रहेको बताउनुभयो ।

























