दाङ । बङ्गालको खाडीमा विकसित शक्तिशाली न्यून चापीय प्रणाली भारतका उडिसा, पश्चिम बङ्गाल र बिहारलगायतका क्षेत्रमा अत्यधिक वर्षा र डुबान गराउँदै नेपालतर्फ सरेको छ ।
यो प्रणालीको प्रत्यक्ष प्रभावले आज रातिदेखि नेपालका धेरै ठाउँमा मुसलधारे वर्षा शुरू हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, बङ्गालको खाडीबाट शुरू भएको शक्तिशाली प्रणाली अहिले नेपालको वायुमण्डलमा प्रवेश गरेको छ ।
यसको असरले आजदेखि १२ गतेसम्म लुम्बिनी, गण्डकी, बागमती लगायतका प्रदेशका धेरैजसो ठाउँमा लगातार झरी र आरिघोप्टे वर्षा हुने पूर्वानुमान रहेको छ । बुधबारदेखि नै दाङसहित देशका केहि ठाउँमा सामान्य वर्षा शुरु भएको छ । आज बिहानै तुलसीपुर र आसपासका क्षेत्रमा छिटफुट वर्षा भएको छ । तर अझै दाङ उपत्यकामा ठुलो वर्षा भएको छैन् ।
विज्ञहरूका अनुसार पहिले नै जमिन भिजेको अवस्थामा २४ घण्टाभित्र १०० देखि १५० मिलिमिटरसम्म वर्षा हुँदा पनि पहिरो जाने र सडक अवरुद्ध हुने जोखिम उच्च रहन्छ । त्यसैले असोज ९ देखि ११ गतेसम्म यात्रा गर्दा सतर्कता अपनाउन र नदी किनार तथा जोखिमयुक्त बस्तीमा बसोबास गर्नेहरूलाई विशेष सजग रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।


























