२०८३ असोज २० गते मङ्गलवार

हाम्रो पहुँचका विद्यार्थीले गरे घरेलु तथा साना उद्योगबारे स्थलगत अध्ययन


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलका कक्षा ९ का विद्यार्थीले घरेलु तथा साना उद्योगका गतिविधिबारे स्थलगत अध्ययन तथा अवलोकन गरेका छन् ।

विद्यालयले स्थापना कालदेखि नै विद्यार्थीहरूको चौतर्फी विकासका लागि किताबी ज्ञानसँगै व्यवहारिक शिक्षामा जोड दिँदै आएको छ । सामाजिक विषयअन्तर्गत पाठ्यक्रममा समावेश उद्योगसम्बन्धी विषयवस्तुलाई व्यवहारिक रूपमा बुझ्ने उद्देश्यले ८० जना विद्यार्थीले आज शुक्रबार नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको अवलोकन गरेका हुन् ।

अवलोकन तथा अन्तरक्रियाका क्रममा विद्यार्थीले स्थानीय स्तरमा उत्पादन हुने वस्तु, घरेलु तथा साना उद्योगको अवस्था, उद्योग सञ्चालनका चुनौती, स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धनलगायत विषयमा जानकारी लिएका थिए ।

विद्यार्थीले उद्योग विकासका लागि सरकारले सञ्चालन गर्नुपर्ने कार्यक्रम, दर्ता भएका उद्योगको सङ्ख्या, स्थानीय उत्पादनको प्रवद्र्धन, खाद्यवस्तुको उत्पादन तथा प्याकेजिङ र उद्योगले नेपालको आर्थिक विकासमा पुर्‍याएको योगदानबारे जिज्ञासा राखेका थिए । साथै, महासंघले गत वर्ष तुलसीपुरमा आयोजना गरेको महोत्सवको उद्देश्य, उपलब्धि र आगामी योजनाबारे पनि विद्यार्थीले जानकारी लिएका थिए ।

विद्यार्थीका जिज्ञासाको जवाफ दिँदै नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । नवीनतम सोच र व्यावसायिक योजना भएका उद्यमीलाई प्रोत्साहन गर्न सरकारले बिजनेस इन्क्युबेसन सेन्टर सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष केसीले घरेलु तथा साना उद्योगको विकासका लागि सरकारले लगानी गरे पनि त्यो पर्याप्त हुन नसकेको बताउनुभयो । उद्योगी–व्यवसायीको हकहित संरक्षण, सीप विकास तथा अध्ययन–अवलोकनका कार्यक्रमलाई महासंघले निरन्तरता दिँदै आएको उहाँले जानकारी दिनुभयो ।

औद्योगिक ग्राम निर्माणका लागि पहल भइरहेको बताउँदै अध्यक्ष केसीले गाउँबाट तरकारी बिक्री गर्न आउने किसानलाई लक्षित गरी सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो ।

नेपालमा घरेलु तथा साना उद्योगतर्फ दर्ता भएका उद्योगको सङ्ख्या ७ लाख ३१ हजार ५ सय ६० भन्दा बढी रहेको पछिल्लो तथ्याङ्क रहेको अध्यक्ष केसीले जानकारी दिनुभयो । दर्ता भएका उद्योगमध्ये घरेलु तथा साना उद्योगको हिस्सा ६३ प्रतिशत रहेको उहाँको भनाइ छ ।

महासंघले गाउँघरमा रहेका साना उद्योगीलाई संगठित गर्ने, उनीहरूका समस्या पहिचान गर्ने तथा आवश्यकता अनुसार तालिम सञ्चालन गर्दै आएको अध्यक्ष केसीले बताउनुभयो ।

यस्तै, डीभी गार्मेन्ट फेसन हाउसका प्रकाश ओलीले गार्मेन्ट उद्योगले तुलसीपुरमा रोजगारी सिर्जना गरिरहेको बताउनुभयो । तुलसीपुरमा करिब १० वटा गार्मेन्ट सञ्चालनमा रहेको र एउटा गार्मेन्टले कम्तीमा २५ जनासम्मलाई रोजगारी दिइरहेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय स्तरमै उत्पादन भएका कपडालाई उपभोक्ताले विश्वास गरेर खरिद गर्ने वातावरण बनेमा गार्मेन्ट उद्योग अझै फस्टाउन सक्ने ओलीले बताउनुभयो । ग्राहकको अर्डरअनुसार कपडा उत्पादन गर्ने भएकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिन उपभोक्ताले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

विद्यालयका शिक्षक नवराज शर्मा र सन्देश भण्डारीको नेतृत्वमा भएको अवलोकनले विद्यार्थीलाई सामाजिक विषयमा अध्ययन गरेका विषयवस्तुलाई प्रत्यक्ष रूपमा बुझ्न तथा व्यावहारिक ज्ञान हासिल गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रमको सहजीकरण नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका महासचिव भद्रबहादुर ओलीले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस